सृजना त्यागेर मृत्यु रोज्नेहरू

रंगीन दुनियाँ अँगाल्ने तर आत्महत्या रोज्ने नेपाली कलाकारका नेपथ्यका कथा

सोमबार, मंसिर ४, २०८०

काठमाडौंनाम, दाम र चर्चाको भोकमा कलाकारितालाई पेशा बनाउनेको लर्को अहिले पनि चलिरहेको छ। यहाँसम्मकी सामाजिक सञ्जालबाट भए पनि रंगिन दुनियाँमा छिरेर चर्चा कमाउने भोक धेरैमा देखिन्छ।

त्यहाँमाथि गीत संगीत र म्युजिक भिडिओ र पर्दाको लोभ नहुने को होला र? मौका पाएर संघर्षको उडान भर्दाभर्दै डिप्रेशनको शिकार हुने त कतिपय बदनामीको डरले जीवनलाई सस्तो ठान्ने पनि छन्।

नेपाली संगित र कला क्षेत्रमा यसरी आफ्नै जीवनको महत्व नबुझी आत्महत्या गर्नेहरूको नेपथ्यको कथा घोचक जस्तो लाग्दछ।

हालै मात्र म्युजिक भिडिओ, फिल्ममा अभिनयमा जन्म थालेकी अनि ब्युटी पार्लर समेत सञ्चालन गरेकी जलपरी नामले चिनिने दिपासा बीसीले आत्महत्या गरिन्।

उनलाई बचाउनका लागि नर्भिक अस्पताल भर्ना त गरियो तर सम्भव भएन। ऋणको बोझले थिचिएका कारण उनले यस्तो बाटो रोजेको बताइयो।

जलपरी नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी थिइन्। उनको डेब्यु फिल्म दुलही रानी २०६८ मा रिलिज भएको थियो।

नेपाली युवा र र्यापरमाझ लोकप्रिय नाम हो, यमबुद्ध। यहाँसम्मकी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) नै उनका चेला मात्र होइन ठूलो फ्यान नै थिए। तर, अनिल अधिकारीको वास्तविक नामले कम र यमबुद्धका नामले चर्चा कमाएका उनले पनि आत्महत्याको बाटो रोजे।

यमबुद्धले बेलायतमा आत्महत्या गरे। युवापुस्तामाझ लोकप्रिय उनले बेलायतस्थित आफू बस्ने घरको शौचालयमा पासो लगाई आत्महत्या गरेका थिए। मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत उनका कयौं गीत हिट छन्।

गायिका योगिता मोक्तानले पनि आफ्ना सारा समस्याको समाधान मृत्युमै देखिन्। उनले प्रेममा धोका पाएपछि सन् २०१३ मा आत्महत्या गरिन्। उनी विशेषगरी तामाङ सेलो गीतका लागि चर्चित थिइन्।

म्युजिक भिडियोमा अभियन गर्ने जेशिका खड्काको एकाएक गायक प्रकाश ओझासँगको नग्न भिडियो सार्वजनिक भयो।

घटनाले उनी निकै विक्षिप्त बनिन्। त्यो घटनापछि पनि उनी अभिनय क्षेत्रमा फर्किएकी थिइन्।

अन्ततः सन् २०१२ मा उनले पनि आत्महत्या गरेर आफ्नो जीवन अन्त्य गरिन्।

प्रतिभावान गायक कुल पोखरेल पनि असमयमै गए। २३ वर्षको उमेरमा सन् २००३ मा संसार छाडेका कुलका आमा, ‘हुन्न र, ‘यो इ यो यो, ‘यसपाली दशैंमालगायतका गीत चर्चित छन्। ड्रग्सको कुलतमा फँसेका कुलको आत्महत्याको कारण ड्रग्स नै मानिएको थियो।

नेपाली रंगमञ्चमा चर्चाको अर्को आत्महत्या थियो, श्रीषा कार्की प्रकरण। श्रीषाको घरमा एक सैनिक मेजरसँग विवाहको कुरा चल्दै थियो। सोही बखत एक साप्ताहिक पत्रिकाले उनको नाङ्गो तस्विर छाप्यो। त्यो घटनाले मानसिक रूपमा हतोत्साही बनेकी श्रीषाले सन् २००२ मा पासो लगाएर आत्महत्या गरिन्। उनले घाँम छायाँ लगायतका फिल्ममा काम गरेकी थिइन्।

धेरैलाई स्तब्ध पार्ने अर्को आत्महत्या थियो, निर्देशक आलोक नेम्वाङको।

नेम्वाङले आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका छन् । बिहीबार बेलुकी ८ बजे आफ्नै अपार्टमेन्टको तल्लो तलाको भर्याङमा झुण्डिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको थियो।

९ बर्षअघिको यो घटना आश्चर्यजनक नै थियो। नेपाली भिडिओ र फिल्ममा नयाँ शैली भित्राएका उनको आत्महत्यालाई सामान्य लिइएन।

अमेरिकामा पढेर आएपछि आलोक काठमाण्डौको सोल्टीमोडमा बस्दै आएका थिए। उनले सुरुवातमा ईमेज च्यानलबाट आफ्नो कामको सुरुवात गरेका थिए। लाखौँ पटक मैले कोशिश गरेँ बोलको  म्यूजिक भिडिओ निर्देशन गरेका थिए। नविन के भट्टराइको आवाज रहेको यो भिडियो चर्चामा रहेको थियो।

आलोकसँग भिडिओ खेल्नेमा झरना बज्रचार्य, संचिता लुइटेल, नम्रता श्रेष्ठदेखि रिमा विश्वकर्मा, केकी अधिकारीसम्म पर्छन् । यस्तै, बसमा छैन मेरो मन पनि आलोकको अर्को चर्चित भिडिओ थियो।

रंगिन दुनियाँमा रहे पनि कोही ऋणले थिचिएको त कोही नशाले पिल्सिएको स्थितिमा आत्महत्याको निर्णयसम्म पुग्छन्। कतिपय भने बेइज्जतीको त्रासले आत्महत्या गरेका प्रशस्त उदाहरण छन्।

तर, आत्महत्या समाधान होइन। डिप्रेशन भए उपचार गर्ने, समस्या भए साझा गर्दा आफैंले आफूलाई मृत्युमा समाधान देख्न छाडिन्छ भन्ने मान्यता छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्