नेभिगेशन
विश्व

सयौँ रोहिङ्ग्या शरणार्थी डुङ्गाबाट पश्चिमी इन्डोनेसिया पुगे

बिरेयुन- दुई सय ५० रोहिङ्ग्या शरणार्थी लिएर एउटा डुङ्गा बिहीबार बङ्गलादेशबाट इन्डोनेसिया पुगेको एक स्थानीय अधिकारीले बताएका छन् । योसँगै गत सातामा इन्डोनेसियामा यस्तो आगमन सङ्ख्या करिब छ सय पुगेको छ ।

अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मामा व्यापक उत्पीडनको सामना गर्नुपरेको छ र उनीहरू प्रत्येक वर्ष आफ्नो ज्यानलाई जोखिममा राखेर प्राय कमजोर डुङ्गामा मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा लामो र महङ्गो समुद्री यात्रा गर्छन् ।

पुलो पिन्युङ मेउनासाह गाउँका प्रमुख मुख्तारुद्दीनका अनुसार बिहीबार आएका रोहिङ्ग्याहरूले मुलुकको पश्चिमी प्रान्त आचेको समुद्री तटबाट करिब एक सय मिटर पानीमा पर्खिरहेका थिए । केही गाउँलेले शरणार्थीहरूलाई डुङ्गाबाट ओर्लनबाट रोकिरहेका थिए ।

रोहिङ्ग्या शरणार्थी मन्जुर आलमका अनुसार बङ्गलादेशको कक्स बजारबाट २० दिनअघि ५४ शिशु र बालबालिका, ७९ पुरुष र एक सय आठ महिलासहित दुई सय २९ जना डुङ्गामा सवार थिए । बङ्गलादेशको कक्स बजारमा करिब १० लाख रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् ।

आलमले भने, “डुङ्गामा धेरै साना बालबालिका छन्, कृपया उनीहरूलाई जोगाउनुहोस्, उनीहरू धेरै भोका छन् किनकी उनीहरूले केही खान पाएका छैनन् ।”

स्थानीय अधिकारीहरूका अनुसार नयाँ आगमनसँगै पछिल्लो ७२ घन्टामा इन्डोनेसियामा आउने रोहिङ्ग्याहरूको कूल सङ्ख्या करिब छ सय भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार बङ्गलादेशमा करिब नौ लाख ६० हजार रोहिङ्ग्या शरणार्थी छन् । तीमध्ये अधिकांश सन् २०१७ मा म्यान्मामा सेनाको हिंसात्मक कारवाहीपछि भागेका हुन् । उक्त नरसंहारको अनुसन्धान राष्ट्रसङ्घले गरिरहेको छ ।

राज्यविहीन र उत्पीडित अल्पसङ्ख्यक रोहिङ्ग्या भिडभाड भएको, खतरनाक र कम स्रोत भएका राहत शिविरहरूमा बस्छन् । उनीहरूको स्वदेश फिर्तीका लागि भएका पछिल्ला कयौँ प्रयास म्यान्मा र स्वयं शरणार्थीहरूको अनिच्छाका कारण असफल भएको छ ।

बुधबार एक सय ४७ शरणार्थीलाई लिएर एउटा डुङ्गा आचेको पिडी क्षेत्रमा पुगेको स्थानीय अधिकारी इहसानले बताउनुभयो । स्थानीय नौसेना कमान्डर एन्डी सुशान्तोका अनुसार एक दिनअघि एक सय ९६ शरणार्थीको समूह सोही क्षेत्रमा उत्रिएको थियो । मार्चमा एक सय ८४ रोहिङ्ग्या शरणार्थी पूर्व आचे सहर प्युरुलक पुगेका थिए ।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) ले रोहिङ्ग्याको नयाँ आगमनमा सहयोगका लागि स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको एजेन्सीको इन्डोनेसिया प्रवक्ता मित्र सलिमा सुर्योनोले बताए ।

“युएनएचसिआरको प्राथमिकता भनेको रोहिङ्ग्या शरणार्थीहरूको सुरक्षा र स्वास्थ्य हेर्नु हो, उनीहरूमा धेरै महिला र बालबालिका छन् जो असुरक्षित छन् । उनीहरूको सुरक्षाका साथै आपत्कालीन सहयोगको पनि आवश्यकता छ”, उनले भने, “स्थानीय अधिकारी र बासिन्दाहरूले शरणार्थीहरूका लागि ठाउँ दिन र उनीहरूलाई डुङ्गाबाट ओर्लन अनुमति दिन्छन् भन्ने हाम्रो अपेक्षा छ ।”

युएनएचसिआरका अनुसार दुई हजारभन्दा धेरै रोहिङ्ग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूको जोखिमपूर्ण यात्राको प्रयास गरेका छन् । गत वर्ष खतरनाक समुद्र पार गर्ने प्रयासमा करिब दुई सय रोहिङ्ग्या मारिएको वा हराएको युएनएचसिआरले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व