कोरला नाका खुल्यो, चिनियाँ पक्षद्वारा स्थानीयहरुलाई खाद्यान्न सहयोग

सोमबार, कात्तिक २७, २०८०

म्याग्दी- चार वर्षदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आज (सोमबार)देखि नियमित रुपमा सञ्चालनमा आएकाे छ। सोमबार बिहान १० बजेदेखि औपचारिक रुपमा कोरला नाका सञ्चालनमा ल्याइएको हो।

नाका सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुले सस्तोमा  चिनियाँ सामान आयत गर्न पाएपछि खुसी भएका छन्।

कोराेना महामारीका कारण नाका बन्द हुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको दैनिक जनजीवन प्रभावित बनेको थियो । यहाँ प्रायजसो चीनका सामानहरु उपभोग गरिन्छ । पोखरा, बेनी हुँदै माथिल्लो मुस्ताङ पुगेका सामान तेब्बर महँगाे हुन्छ । नाका सञ्चालन भएसँगै दैनिक उपभोग्य वस्तुहरु, लत्ताकपडा र निर्माण सामग्री सुलभ दरमा आयत हुने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बताए।

उनले भने, ‘‘विगत चार वर्षदेखि नाका पूर्णरुपमा बन्द हुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको दैनिक जनजीवन कष्टकर बन्यो । सामानहरु धेरै महँगाे मूल्य तिरेर ल्याउनुपर्ने बाध्या थियो । अब नाका नियमित रुपमा सञ्चालनमा आएसँगै चीनतर्फबाट धेरै सस्तोमा सामान ल्याउन पाइने भएको छ ।’’ नाका सञ्चालन भएसँगै माथिल्लो मुस्ताङका स्थानीयहरु खुसी भएको उनको भनाइ छ ।

लोमान्थाङका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुका लागि सञ्चालन हुने नाकामा आवतजावतका लागि अनुमतिपत्र वितरण गरिएको छ । अनुमति पत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधारणहरु कोरला नाकामा आवतजावत गर्न पाउँछन् ।

लामो समयपछि नाका खुलेको खुसियालीमा चिनियाँ पक्षले नेपालीहरु एक लाख किलो खाद्यन्न सहयोग गरेका छन् । नाका खुल्ने अघिल्लो दिन आइतबार चिनियाँ पक्षले स्थानीय पालिकाका बासिन्दाका लागि भनेर नुन, चिया, पिठोलगातका खाद्यान्न सहयोगमा पठाएको हाे।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्