पृथ्वी राजमार्गको विस्तार तिहारमा पनि नरोकिने

शनिबार, कात्तिक २५, २०८०

तनहुँ- तिहार बिदाको समयमा पनि पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तार कार्य नरोकिने भएको छ । निर्धारित समयमा नै आयोजनाको निर्माण कार्य सक्ने उद्देश्यले तिहार बिदाको समयमा पनि सडक विस्तार धमाधम गर्न थालिएको छ ।

मुग्लिन पोखरा पश्चिम खण्डका प्रमुख राजेश पौडेलका अनुसार दुई चरणमा गरी सडक विस्तार भइरहेको छ । लक्ष्यअनुसार प्रगति नभएकाले तिहारमा समेत सडक विस्तार गरिने उनले जानकारी दिए ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको करिब ३९ किलोमिटर विस्तारको प्रगति हालसम्म करिब १२ प्रतिशत मात्र भएकाले बिदामा समेत काम तीव्र्रपमा गर्नु परेको आयोजना प्रमुख पौडेलले बताए ।

पश्चिम खण्ड विस्तारका लागि २०७८ जेठमा सम्झौता भएको हो । यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने छ । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउने काम भइरहेको छ । पश्चिम खण्डको लागत रु सात अर्ब ४० करोड ४६ लाख रहेको प्रमुख पौडेलले बताए ।

त्यसैगरी ४१ दशमलव ४५ किलोमिटर दूरी रहेको पूर्वी खण्ड विस्तार कार्य तीव्र पारिएको पोखरा–मुग्लिन सडक योजनापूर्वी खण्डका प्रमुख श्याम यादवले जानकारी दिए । यस खण्डमा तिहार बिदाको समयमा पनि सडक विस्तार कार्यलाई तीव्र पारिने छ । सडक फराकिलो बनाउने, भित्ता खार्ने, खाडल पुर्ने, पक्की पुल र कल्भर्ट निर्माण गर्नेलगायत काम भइरहेका छन् ।

यस खण्डमा ३६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको प्रमुख यादवले जानकारी दिनुभयो । पूर्वी खण्ड विस्तारका लागि २०७७ माघमा विसं २०७८ वैशाखदेखि काम सुरु भएको हो । यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् ।

पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको काम २०८१ वैशाखसम्म सम्पन्न गर्नुपर्ने प्रमुख यादवले बताए । पूर्वी खण्डको लागत रु ६ अर्ब २१ करोड ३१ लाख रहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्