नेभिगेशन
समाज विविध

मुगु सामूहिक हत्या प्रकरण : एकजना आरोपित पक्राउ

काठमाडाैं- मुगुमा एकै परिवारको सामूहिक हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको हाे।

स्रोतका अनुसार मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरख बहादुर शाही पक्राउ परेका हुन्। यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान छ र यसबारे अनुसन्धान गरिरहेको जनाएको छ।

स्रोतका अनुसार गोरखबहादुर मृतकका नातेदार पर्छन्।

कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए। घटना भएको पर्सिपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका हुन्।सामूहिक हत्या भएको घटना अनुसन्धानका लागि सुरूमा कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट दुई वटा टोली अनुसन्धानका लागि खटिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध