धरानमा विमानस्थल विवाद

अरु लोक रिझ्याँईमा लाग्छन्, पर्यटनमन्त्री किराँती हर्क साम्पाङ रिझ्याँईमा मस्त

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं– मूलधारको राजनीतिका मुख्य नेता अबको जनमतसँग त्रसित भई सामूहिक बैठक बसिरहेका बेला ति दलहरूबाट मन्त्री बनेकाले पनि लोक रिझ्याँईको कामभन्दा पनि लोकप्रिय भएकाहरूको जनमत आफूकेन्द्रित बन्ने निर्णयको प्रचार थालेका छन् ।

यस्तो प्रचारमा लागेका छन् माओवादी नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती । 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउनका लागि संघीय सरकारलाई लेखेको पत्राअनुसार काम अघि बढेको किराँतीले घोषणा गरेका छन् । 

जबकि, यो काम हिसिला यमी मन्त्री हुँदा नै अगाडि बढेको दाबी गरिएको थियो । यमी त्यसबेला माओवादीकै नेत्री थिइन् ।

यो प्रक्रिया अघि नबढेपछि हर्क साम्पाङ सामाजिक सञ्जालमा बारम्बार मन्त्री किराँतीले काम नबढाएको भनी पत्र सार्वजनिक गर्ने, स्ट्याटस लेख्ने काम गरेका थिए । आलोचना बढ्ने त्रासले किराँतीले प्रक्रिया अघि बढाउन भनेको सामाजिक सञ्जालमा लेखेका थिए ।

साम्पाङले किराँतीका नाममा पत्रसमेत लेखेका थिए ।

‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन गरिएको छ’ भनी मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका थिए । त्यसअघि साम्पाङले बारम्बार दबाब मात्र दिएका थिएनन्, नगरपालिकाको लेटरहेडको पत्र नै सार्वजनिक गरिदिए । 

पत्र यस्तो छDharan-letter-ro-ministry-CNN-1699538242.jpg

साम्पाङ सामाजिक सञ्जालमा सक्रिय मात्र छैनन्, उनका समर्थक पनि निक्कै आक्रामक छन् । मन्त्री किराँती यहि कारणले पनि आलोचित हुने त्रासले लोक रिझ्याँईमा भन्दा साम्पाङ रिझ्याँईमा सक्रिय देखिए । 

आन्तरिक विमानस्थलहरू विमान अभावका कारण भटाभट बन्द भइरहेका बेला साम्पाङले विकासको निम्ति लोकप्रियता कमाउनका लागि निर्णय गरेका थिए । विमानस्थल बने पनि विमान उडान नभए त्यसको दोष संघीय सरकारले नै लिनुपर्छ तर लोकप्रियताचाहिँ साम्पाङको हातमा जान्छ । 

धरानमा विमानस्थल बनाउनु त्यहाँका जनताको चाहना भए पनि त्यसको व्यवस्थापनको पूर्वतयारी कस्तो हुने भन्नेचाहिँ निर्णित छैन । धरानबाट ३९ किलोमिटरमा रहेको बिराटनगरस्थित विमानस्थललाई नै अझ व्यवस्थित बनाउन नसकिरहेको अवस्थामा धरानमा विमानस्थल निर्माण कहिले सम्पन्न हुने भन्ने पनि पक्का नहुने उड्डयन प्राधिकरणका अधिकारीहरू बताउँछन् । 

नेपालमा अहिले पनि ५३ वटा विमानस्थल छन् । जहाँ २० वटा त बन्द नै छन् । उच्च अधिकारी भन्छन्, ‘विमान छैनन्, विमानस्थल सञ्चालनमा कर्मचारीदेखिका खर्च, प्राधिकरणको खर्च बढ्छ। बन्द भएका नै खुलाउन सकेपनि ठूलो काम हुन्छ। नयाँ भौतिक संरचना खडा गर्न खर्च त लाग्छ नै ।’

तर, विमानस्थलबारे नयाँ प्रकारको राजनीति खाली लोकप्रियताका लागि मात्र भएको जस्तो देखिन्छ । यसैपनि स्वतन्त्र उम्मेदवारले स्थानीय तह जितेपछि संघीय सरकारसँग टसल त परेकै छ । 

संघीय सरकारमा जिम्मेवारी लिएकालाई त्यो टसल छल्न निक्कै कठिन भइरहेका विभिन्न उदाहरण छन् । साम्पाङ मात्र होइन, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि धेरै पटक संघीय सरकारसँग टसल लिइसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्