बझाङमा भूकम्प

बझाङमा भूकम्प अपडेट : घर र विद्यालयमा क्षति, दुईजना घाइते

मंगलबार, असोज १६, २०८०

बझाङ- मंगलबार दिउँसो आधा घन्टाको अवधिमा दुईपटक आएको भूकम्पका कारण बझाङमा घर र विद्यालयमा क्षति पुगेको छ ।

जिल्लाको तलकोट र चैनपुर आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्‍याएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भूकम्पमा दुईजना घाइते भएका छन्। ‘जिल्लाको छबिसपाथिभेरा गाउँपालिका– १ जालेबगरमा भूकम्पले सुक्खा पहिरो गएपछि उक्त पहिरोमा परी दुईजना घाइते भएका छन्,’ डिएसपी शाहले भने।

यस्तै, भूकम्पका कारण तलकोट गाउँपालिकाको सुनिकोट मावि, जयपृथ्वी नगरपालिकाको सत्यवादी माविलगायतका दर्जनौँ विद्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला सदरमुकाममै रहेको बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ । ‘पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षति हुन पाएन,’ शिक्षक नरेन्द्र उपाध्यायले भने। तलकोट गाउँपालिका– १ को भवन पनि भत्किएको छ। यस्तै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्ध भएको बताइएको छ।

भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरा गाउँस्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो। त्यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकाेट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार