सारुक ताम्राकार आत्महत्या प्रकरणको नालीबेलीः नम्रताविरुद्धको दुरुत्साहन मुद्दामा के गर्दैछ प्रहरी?

मंगलबार, असोज ९, २०८०

काठमाडौंआत्महत्या उत्तर होइन, विनाश हो। आत्महत्या कहिलेकाहीं कायरताबाट हुन्छ, तर सधैं होइन। कायरताले कहिलेकाहीँ यसलाई रोक्छ, किनकि धेरै बाँच्न चहान्छन्, तिनीहरू मर्न डराउँछन्। जो मर्छन् तिनीहरू बाँच्न डराउँछन्।

तर जब आत्महत्या दुरुत्साहनसँग जोडिएर उजुरीसहित मुद्दामामिलाको चरणमा प्रवेश गर्छ, यो समाचारको विषय बन्दछ।

क्यानडानेपालले सारुक ताम्राकार आत्महत्या प्रकरण, यससँग जोडिएका विविध पाटा, सारुकका बुवा सानु ताम्राकारको मृत्यु, सारुक ताम्राकारकी आमाको बयान र उजुरी यी सबै पाटोलाई नियाँलेको छ।

यो किन पनि समाचारको विषयबस्तु बन्यो भने यहाँ सेलिब्रिटी आत्महत्याको विषय छ। र, जोडिएकी छन् विवादमा आइरहने अभिनेत्री नम्रता श्रेष्ठ।

गएको असार २२ गते रातोपुलस्थित घरमा सारुक ताम्राकारले आत्महत्या गरे। यसको भित्री कारण नखुलेपछि एउटा अभियान सुरु भइसकेको छजस्टिस फर सारुक। तर, उनलाई के अन्याय भयो? यो पाटोलाई पनि नियाँल्न आवश्यक देखिन्छ।

सारुक ताम्राकार र अभिनेत्री नम्रता श्रेष्ठ लिभिङ रिलेसनसिपमा भएका समाचार छ्याप छ्याप्ती आएका थिए।  फिल्म ह्यासट्याग मायाको सुटिङ चलिरहदाँ उनीहरू रिलेशनमै भएको फिल्मका सहनिर्देशकले नै बताए।

सोही क्रममा नम्रताले सारुकलाई तान्त्रिकसित भेटाएको र पटक पटक पूजा गराएको खुल्न आएको छ। तेस्रो पटकको पूजामा निर्देशक आफै पनि दोलखा पुगे। सारुक र नम्रता मसान घाटमा पूजा गरिरहदाँ आफू बहिरै बसेको निर्देशक राजीव गुरुङ बताउँछन्।

पूजा सकेर कालो बोकाको मासु ल्याएर खाएको त्यो सम्बन्ध थियो। नम्रताकै आग्रहमा सारुक ताम्राकारले फिल्म सुपर हिट होस् भनेर पूजा गर्न लगाएकोसम्मका विषय खुलेका छन्।

राजीव गुरुङले फेसबुकमा सारुकले खिचेको दोलालघाटको पूजामा गएर बुढानिलकण्ठ फर्किदाको समयमा लिईएको हिलाम्मे गाडी जस्ताको जस्तै सार्वजनिक गर्दै भावुक विचार सार्वजनिक गरे।

यो क्रम यतिकै रोकिएन। शान्ति तामाङले पनि एथेष्ट प्रमाण प्रहरीले सार्वजनिक नगरेपछि अत्याचार सहनु परेको हाम्रो समाज भन्ने विचार सार्वजनिक गरिन्। महिलाले कतिसम्म दादागिरी गर्न सक्छन् भनेर लेखेकी छिन्। शान्ति तामाङ सोही फिल्मकी सहनिर्देशक हुन्।

सारुक ताम्राकार आत्महत्या प्रकरणमा यति विषयबस्तु आएपछि यसलाई अपराधको कोटीमा राखेरै हेर्नुपर्छ। आत्महत्या गर्न बाध्य बनाएको हो कि होइन? यसको फैसला अदालतले गर्छ। त्यो विषय त्यसबेलासम्म गर्भमा छ जतिबेलासम्म प्रहरीले मुद्दा चलाउँदैन र अदालतसम्म पुग्दैन।

नम्रता श्रेष्ठको अर्पामेन्टमा प्रहरीले छानविनको क्रममा भेटिएका समाग्रीहरू सार्वजनिक नगरेको सहनिर्देशक तामाङको दाबी छ। उनको दाबीले नम्रताको दबाबमा प्रहरी परेको त होइन? कि प्रहरी बिक्यो? भन्ने प्रश्न उठेको छ।

यस्तो छ शान्ति तामाङ्को फेसबुकमा लिखित बयानबाजी

महिलाको अत्याचार सहनु परेको हाम्रो समाज, महिलाको हक अधिकारले पेलिएको हाम्रो समाज, महिलाको कारणले छुट्टिएको पुरुष पात्रको परिवारमहिलाको दुश्मन महिला नै भनेर उठ्ने आवाज भन्दै शान्ति तामाङले लेखेकी थिइन्। 

दुई शब्द लेख्दै छु,

यो समाजको त्यो बिकृति देखेर दिक्क भएर बाध्य भएर।

हो आत्माहत्या गर्नु गलत थियो र हो पनि।

तर त्यसको पछाडि धेरै कारणहरू र गुम्सिएका भावनाहरू थियो होला। त्यसको नतिजा आत्माहत्या गर्नुसम्म बाध्य भयो र एउटा सरल मान्छेको ज्यान गयो। ?

उसको भावनालाई बुझ्ने हो भने कति घात प¥यो होला त त्यो चोखो मनमा?

कति पिडा भयो होला ?

कति कुरा मनमा गुम्सियो होला?

आत्मा सम्मानमा ठेस पुग्यो होला?

निर्दोस आँखाले तुच्छ कर्म देख्यो होला?

साथ चाहेर पनि पाएन होला।

मायाको भोको भयो होला।

न्यानो अँगालोको कमि भयो होला।

दुई शब्द उसको सुनी दिने कोहि खोज्यो होला।

बस कोही नपाएपछि सारा रंगीन दुनियाँ छोडेर त्यो अन्धकार नै प्यारो भयो।

अझै पनि न्यायको आशमा टुलुटुलु हेरी पो रहेको छ कि?

न्याय हराएको मेरो देश भनेर पुर्पुरोमा हात लगाएर लम्केको पाईला पनि एकछिन रोकिएर पर्खी पो रहेको छ कि अझै केहि आशमा।

कानुनी हकको दुरुपयोग गरेर कति विध्वंश मच्चाई रहेर।

सरल र सालिनता बिर्सिएर कति नांगिएर।

कला र धर्म स्वाभिमानसँग कति खेलवाड गरेर।

क्रमशः धेरै छ।

अझै पनि पुरुष प्रधान देश भयो?

वाह वाह महिला अधिकारको जय होस्।

सदुपयोग गर पोल्टो भर।

पुरुष पात्रको पीडाले गर्जिएको एक महिला को शब्द।

उनको प्रश्नको गहिराईले आत्महत्याको कारण छ तर अमूर्त। त्यो मूर्त कारणका निम्ति नै अभियान स्वरुप जस्टिस फर सारुक भन्ने नारासहित मान्छे किन अगाडि आए? यो प्रश्नले उत्तरको खोजी गरिरहेको छ। पख्नुस् यस प्रकरणसँग अरु पनि जोडिएका तथ्य छन्, तन्त्र मन्त्र र प्रतिक्रिया छन्।

सारुक त गए तर, त्यहि पीडामा थलिएका उनका बुवा सानु ताम्राकारे ५२ दिनपछि भगवानका प्यारा भए। छोराको वियोगको पीडा सहन नसकी अस्पताल भर्ना भएकै बेला मृत्यु भएको उनका परिवारको दाबी छ।

ताम्राकारका पीताको मृत्यु पछि उनकी आमा रुकमणि ताम्राकारले ठूलो बज्रपात परेको भन्दै यतिका दिनसम्म छानविन के भईरहेको छ? भन्दै प्रश्न उठाएकी छन्।

यसको अर्थ, सारुकको आत्महत्या होइन, यसमा दुरुत्साहन छ भन्ने रुकमणिको ठहर छ।

अब यो प्रश्न झन् पेचिलो बनिसक्यो। किनभने जब रुकमणि यस प्रकरणको न्यायीक खोजबिनको पक्षमा उभिएर प्रहरीमाथि प्रश्न गर्छिन् भने, त्यसको जवाफ न्यायीक शैलीमा नै आउनुपर्छ। पर्दाकी नायिका तर यस प्रकरणकी असली खलनायिकाका रुपमा प्रस्तुत गरिएकी नम्रता पनि बोलेकी छन्।

०००

सानु ताम्राकारको मृत्यु भएको दुई दिनपछि यस प्रकरणमा नम्रता श्रेष्ठको पनि सामाजिक सञ्जालमा पोस्ट आयो। रेष्ट इन पिस भन्दै बाबु छोराको तस्बिरमा बैकुण्ठमा बास होस्, सम्पूर्ण परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भनेर लेखिन्।

यति मात्र लेखिनन्, यसका साथमा विकसित भएको घटनाक्रमलाई लिएर लामै पोस्ट हालिन्।

ताम्राकारको आत्महत्याले आफू अचम्ममा परेको बताउँदै नम्रताले यसबारे अहिलेसम्म केही नबोल्नुमा पारिवारिक सुझाव रहेको खुलाएकी थिइन्। प्रहरी अनुसन्धानमा प्रभाव पर्छ भनेर परिवारका सदस्यले नै केही नबोल्न भनेकाले आफूले बोल्न ठीक्क पारेको स्टाटस पनि पोस्ट नगरेको खुलाएकी थिइन्।

तर अहिले केही मिडियाले आफूविरुद्ध एकोहोरो लेखेकोले सत्यतथ्य थाहा दिन पनि आफूले उक्त स्टाटस बाहिर ल्याएको उनले बताएकी थिइन्। आफ्नो फोन समेत परिवारले ह्यान्डल गर्ने गरेको उनले खुलाएकी थिइन्।

घटनामा आफूलाई जोडेर कपोकल्पित समाचार प्रचार गराउन केही अनलाइन मिडियाहरू, केही सिनेमाकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लागेको भन्दै उनले यी क्रियाकलापलाई उनको परिवार र कानुनी समूहले नजिकबाट नियालिरहेको समेत बताएकी थिइन्।

उनले विगतमा आफूले दिएको अन्तरवार्तालाई तोडमोड गरिएको र ट्रोल बनाउने प्रयास भएको भन्दै यसपटक त्यही डरले आफू मिडियामा आउन, अन्तरवार्ता दिन नचाहेको बताएकी थिइन्।

आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरीफाई गर्नु उचित नहुने भन्दै उनले पीत पत्रकारिता गर्ने अनलाइन मिडियाहरूप्रति रोष व्यक्त गरेकी थिइन्।

नम्रताले आफू स्वयं पनि मेन्टल हेल्थकी सर्भाभर र एडभोकेट रहेको जनाउँदै यस्तो संवेदनशील विषयलाई मिडियामा ल्याउन उचित नठानेकाले चुपचाप बसेको बताएकी थिइन्।

आफूविरुद्ध कपोकल्पित तवरले देशै छोडेर क्यानडातिर गएको जस्ता फण्डाहरू फिँजाइएको बताउँदै प्रहरी प्रशासन लाई बयान दिन जाँदा आफ्नो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरूले नै कतै भिजिट गरेको भिसा देखिएन भनेर अचम्म मानेको समेत बताएकी थिइन्।

को हुन् नम्रता?

नम्रता श्रेष्ठ नेपाली फिल्म क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन्।

उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायत १६ भन्दा बढी फिल्ममा अभिनय गरेकी छन्।

उनी नेपाली फिल्म जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन्।

नम्रता आफ्नो मोडलिङ जीवनमा विभिन्न पत्रिकाको मुख्य पृष्ठमा देखिएकी थिइन्।

नम्रता श्रेष्ठलाई नेपालको उत्कृष्ट ५ मोडेलमा दी काठमाडौँ पोस्ट पत्रिकाले सन् २००५ फेब्रुअरी २१ मा घोषणा गरेको थियो।

यो उनको करिअरको कुरा भयो। यसबाहेक उनी विवादको श्रृङ्खलामा आइन्। उनको एउटा अश्लील भिडिओले तहल्का मच्चायो। प्रेम जीवनका चर्चा थोरै भएनन्।

डिजे तान्त्रिक, दावा शेर्पादेखि सारुक ताम्राकार र अहिले निर्मल अर्थात् निम्स पूर्जासँग अहिले प्रेममा छिन्। सारुक ताम्राकार आत्महत्यामा निम्सको पनि नाम जोडिन्छ।

साढे दुई वर्ष अगाडि फिल्मको निर्माण टिमले मासिक एक लाख ५० हजार भाडा तिर्ने गरी लिएको घरको मालिक निर्मल पूर्जा अर्थात् निम्स दाइ। बेलायती नागरिक पूर्जा नेपाल आउँदा होटेल मेरियटमा बस्ने गर्थे। उनले बुढानीलकण्ठमा समेत घर बनाएको यही घटनाले खुलायो।

भाडामा लिइएको घरको भुईं तला फिल्म युनिटले कार्यालय प्रयोजनका लागि प्रयोग गरेको देखियो। स्थानीयका अनुसार घरमा कलाकारहरू आउने जाने गरिरहन्थे। घरमा नियमित पाँच जना बस्ने गरेको देखियो।

घरको पहिलो तलाका चार कोठामध्ये एक कोठा नम्रताले प्रयोग गर्ने गरेकी थिइन्। नजिकैको अर्को कोठामा कलाकार सारुक ताम्राकार बस्दै आएका थिए। तेस्रो कोठामा सोही फिल्मका अर्का कलाकार रोय श्रेष्ठ बस्ने गरेका थिए। चौथो कोठामा अन्य दुई महिला बस्थे।

माथिल्लो तलाको कोठालाई नायिका नम्रताले योगा र ध्यान गर्न प्रयोग गर्ने गरेको खुल्यो। सारुक करिब २ वर्षदेखि नै बुढानीलकण्ठको सोही घरमा बस्ने गरेका थिए। उनी र नम्रताबीच प्रेम सम्बन्ध थियो। यसबारे सारुकका परिवारका सदस्य समेत जानकार देखिए।

सारुकले रातोपुलमा रहेको घरमा आत्महत्या गरेपछि उनी बस्दै आएको बुढानीलकण्ठको घरमा घटनासँग जोडिएको केही तथ्य फेला पर्छ कि भनेर सारुकको परिवार, फिल्म निर्माण टिमका सदस्य स्थानीय प्रहरी लिएर घरमा गएको खुल्यो।

प्रहरी के गर्दैछ?

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कुमुद ढुंगेलले यस प्रकरणको अनुसन्धान जारी रहेको बताएका छन्।

एसपी ढुंगेलले यो प्रकरणको उजुरी परेको पुष्टि गरे। तर, कमलपोखरी वृत्तमा परेको उजुरीको छानबिन अगाडि बढेन।

एसपी ढुंगेलका अनुसार कमलपोखरी वृत्तले छानबिन अगाडि नबढाएपछि घटनाबारेको सबै मिसिल परिसरमा तानिएको छ। अब परिसरले नै गहिरोगरी अनुसन्धान गर्नेछ। सम्भवतः अनुसन्धानका क्रममा नै होला।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्