Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन बिग्रिँदा निर्यात रोकियो

शनिबार, असोज ६, २०८०

काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निकासीतर्फको गोदाममा रहेको एक्सरे मेसिन बिग्रिँदा निर्यात रोकिएको छ ।

विमानस्थलमा रहेका दुई एक्सरेमध्ये एउटा दुई महिनाअघि नै बिग्रिए पनि मर्मत गरिएको थिएन । सञ्चालनमा रहेको अर्को मेसिन पनि शुक्रबार बिग्रिएपछि भन्सार जाँचपास र निर्यात रोकिएको हो ।

निर्यात हुने सामग्रीको एक्सरे नभई भन्सार जाँचपास हुँदैन । भन्सार जाँचपास नभई निर्यात हुँदैन । एक्सरे मेसिन नै बिग्रिएपछि निर्यातका सम्पूर्ण प्रक्रिया नै रोकिन पुगेको हो ।

शुक्रबार निर्यात हुने करिब एक लाख डलरबराबरका १० टन सामग्री रोकिन पुगेको नेपाल फ्रेट फरवार्डस् एसोसिएसनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौलाले जानकारी दिए । ‘एक्सरे नगरी कुनै पनि हवाईजहाजले सामग्री ढुवानी गर्दैनन्, यो अन्तर्राष्ट्रिय उडान मापदण्डअन्तर्गत नै पर्दछ,’ उनले भने, ‘बिग्रिएको एक्सरे समयमै मर्मत नगर्दा र भएको एक्सरेसमेत बिग्रिँदा निर्यात ठप्प भएको छ ।’ यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको बेइज्जतीसमेत भएको उनको भनाइ छ ।

शुक्रबार जापान उड्ने नेपाल एयरलाइन्स र कतार उड्ने कतार एयरलाइन्सले लाने निर्यातका वस्तु नेपालमै अड्किएको फ्रेट फरवार्डस् एसोसिएसनले जनाएको छ । त्यस्तै, शनिबार उड्ने विमानबाट समेत निर्यात हुने छैन । शनिबार बेलुकीसम्म एक्सरे नबने निर्यातमा झन् समस्या आउने वरिष्ठ उपाध्यक्ष संग्रौलाले बताए ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका महाप्रबन्धक प्रेम भण्डारीले त्रिभुवन विमानस्थलको निकासीतर्फको गोदाममा रहेको एक्सरे मेसिन बिग्रिएर भन्सार जाँचपास र निर्यात प्रभावित भएको स्विकारे । ‘एउटा एक्सरे मेसिन एक–डेढ महिनादेखि बिग्रिएर बसेको छ, अर्को शुक्रबार साँझ ६ बजेतिर बिग्रिएछ,’ उनले भने

एउटा मेसिनका कारण निर्यात नै प्रभावित हुनु उचित नभएको उनले बताए । ‘पारवहन तथा गोदाम व्यवस्था कम्पनीको काम भनेको अपरेट (सञ्चालन) गर्ने मात्रै हो, मेसिनरीहरू उपलब्ध गराउने काम नागरिक उड्डयन प्राधिकरणको हो,’ उनले भने, ‘उहाँहरूले नयाँ मेसिन ल्याउने भनेर लामो समयदेखि भनिरहनुभएको छ, तर आएको छैन ।’

यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्