चिनियाँ विदेशमन्त्रीलाई गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति

बुधबार, असोज ३, २०८०

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्ने भएका छन् । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार आज उनीहरूबीच राष्ट्रपतिको गृहनगरमा भेटवार्ता हुन लागेको हो । 

“आज राष्ट्रपति पुटिनले चिनियाँ विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा स्वागत गर्ने कार्यक्रम छ,” रुसी राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई बताएका छन् । क्रेमलिनले युक्रेनमा आक्रमण सुरु गरेपछि चीनसँग सम्बन्ध सघन बनाउने प्रयास गरिरहेको छ । अन्तरराष्ट्रिय समुदायबाट एक्लिएसँगै मस्कोले बेइजिङसँगको झुकाव बढाएको हो । 

चीनले युक्रेन द्वन्द्वमा आफूलाई तटस्थ राखेको छ । 

चिनियाँ विदेशमन्त्री याङ मस्को र बेइजिङ बीचको उच्चस्तरीय सम्पर्कको शृङ्खलालाई घनीभूत तुल्याउन चारदिने रुस भ्रमणमा छन् । उनले गत सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका थिए ।

यसअघि गत मार्चमा चीनका राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गरेका थिए । त्यसबेला उनले शान्ति वार्तामा जोड दिएका थिए । राष्ट्रपति सीको रुस भ्रमणको पूर्वसन्ध्यामा बेइजिङले युक्रेनमा शान्ति स्थापना गर्नेसम्बन्धी दस्तावेज नै सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार