हुलाकी राजमार्गको काम ५० प्रतिशत मात्रै 

मंगलबार, असोज २, २०८०

चितवन– हुलाकी राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि पकौडीसम्मको सडक फराकिलो गर्ने काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । 

दुई वर्षमा सम्पन्न गर्नुपर्ने सडकको काम तीन वर्ष बितिसक्दा आधा मात्रै भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीका अनुसार विसं २०७७ जेठ २९ गते दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी लामा शिवशक्ति जेभीले ठेक्का सम्झौता गरेको थियो । रु २९ करोडको लागतमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माणका लागि दुईपटक समय थप गरेको उनले जानकारी दिए । निर्माणको समय थपिएसँगै संशोधित निर्माण लागत रु ३० करोड ७३ लाख पुगेको छ ।

पहिलो पटक विसं २०८० जेठ मसान्तसम्म समय थप गरिएकामा दोस्रो पटक विसं २०८१ जेठ मसान्तसम्म समय थप गरिएको छ । करिब १३ दशमलव ५ किलोमिटर लामो सो सडकको बीच भागमा पाँच मिटर फराकिलो कालोपत्र छ । सडकको दुवैतर्फ दुई दशमलव पाँच मिटरका दरले सडक कालोपत्र गरिँदै छ । सडक सम्पन्न हुँदै गर्दा १० मिटर कालोपत्र हुँदैछ । हालसम्म आठ किलोमिटर सडक कालोपत्रको काम सम्पन्न भएको छ ।

उनले भने, “बाँकी सडक निर्माणका लागि अहिले बिजुलीको खम्बा र चौतारा हटाउने कार्य भइरहेको छ ।” अहिले हाकिमचोकदेखि सीताराम चोकसम्मको खम्बा हटाउने कार्य भइरहेको उनले जानकारी दिए । उहाँले थप्नुभयो, “सडकमा भएका अवरोधका कारण काममा ढिलाइ भएको हो ।”

हुलाकी सडक निर्देशनालयले बोलपत्र आह्वान गरी सम्झौता गरेसँगै फिल्डको जिम्मा डिभिजन सडक कार्यालयलाई दिएको हो । सडकको क्षेत्राधिकार ५० मिटर फराकिलो भए पनि आवश्यकताअनुसार चौडाइ थप्दै लगिने कार्कीले जानकारी दिए । 

सडकको पाँच किलोमिटर सहरी क्षेत्रमा नालासमेत बनाइँदैछ । यस्तै हाकिमचोकदेखि क्यान्सर गेटसम्म फुटपाथसमेत बनाउने गरी ठेक्का दिइएको हो । यो सडक चितवन राष्ट्रिय निकुञ्ज, माडी हुँदै पर्साको ठोरीमा पुगेर भारतीय सीमामा जोडिन्छ । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्