अब अर्थतन्त्र चलायमान हुन्छ : चन्द्र ढकाल

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् ।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईएनआई सिनेमा हलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र यो भन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने बताए ।

अध्यक्ष ढकालले व्यवसायिक एक्टिभिटिज बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने बताए । उनले कोरोना भाइरसपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यवसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आम मानिसमा सकारात्मक उर्जा थपिने विश्वास व्यक्त गरे ।

उनले भने– ‘कोभिड पछिको एक्टिभिटी कम भइरहेको अवस्थामा सिनेमा हल सञ्चालन गरेर इकोनोमिक एक्टिभिटी बढ्ने जुन म्यासेज दिनुभएको छ, त्यसको लागि धन्यवाद छ । अहिले कता–कता मान्छेहरूलाई पब्लिक कन्फिडेन्स नभइरहेको बेलामा अब आउने दिनमा उत्साहजनक हिसाबले बढ्छ भन्ने सन्देश गएको छ । व्यवसायिक एक्टिभिटिज जति बढ्छन्, त्यति नै अर्थतन्त्र चलायमान हुँदै जान्छ । अब आउने दिन राम्रो हुनेछ । यो भन्दा डिट्रोइट हुने अवस्था छैन । अब आउने दिन इकोनोमिक एक्टिभिटी बढ्नेछ ।’

अध्यक्ष ढकालले एउटा कलाकारले मेहनत गर्‍यो भने सिनेमा हलको मालिक पनि हुनसक्ने रहेछ भन्ने स्पष्ट म्यासेज गएको बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्