अर्थतन्त्र

मौद्रिक नीतिका कारण अर्थतन्त्र नाजुक अवस्थामा : महासंघ

आइतबार, भदौ १७, २०८०

काठमाडौँ– नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले अहिलेको नाजुक अर्थतन्त्रको जिम्मेवार सरकार र राष्ट्र बै‌क दुवै भएको आरोप लगाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अर्थतन्त्र चलायमान बनाउनलाई वित्त र मौद्रिक नीतिविच समन्वय हुनुपर्ने भएपनि दुवै निकायविच सहकार्य नभएको समेत जनाएको छ । सरकारको अव्यवहारिक नीति र राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र दुखद अवस्थामा आइपुगेको महासंघले जनाएको छ ।

महासंघले सेयर बजारमा लगाउँदै आएको १२ करोडको कर्जा सीमाको नीति खारेज र यस्तो कर्जाको जोखिम भार १०० नै कायम गरि अर्थतन्त्रलाई चलायमान गराउनु पर्ने उल्लेख माग गरेको छ भने अहिले देखिएको उच्च ब्याजलाई घटाई उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ ।

महासंघले वर्तमान अवस्थामा सहकारी क्षेत्रलाई उद्दार गर्न आवश्यक संरक्षणको कार्ययोजनासहित सरकारले ठोस कार्य गरि अर्थतन्त्र चलायमान बनाउन माग गरेको छ । महासंघका अध्यक्ष एलपी साँवाले उद्योगी व्यवसायीहरु आर्थिक समस्याको मारमा परे पनि राज्य गम्भीर हुन नसकेको जिकिर गर्नुभयो । उहाले उत्पादन घट्दा आयात बढ्न पुगेको अवस्थामा उद्योगी व्यवसायी मैत्री निति ल्याउनुपर्ने धारणा राखे ।  

पत्रकार सम्मेलनमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारले व्यवसायीहरुलाई कुनै सहुलियत नदिएका कारण पनि उद्योग क्षेत्र धरासयी भएको भन्दै अहिले आशा गर्न लायक क्षेत्र कुनै नरहेको बताए । उनले व्यवसायी क्षेत्रका समस्याहरु तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।  

महासंघले ग्रामीण भेगमा गरिव किसानहरुले लघुवित्तमार्फत परिचालन भएको लघु ऋणी र लघुवित्त संस्थाहरुको समस्या समाधानमा कुनै वास्ता नगरेको गुनासो गरेको छ । निर्माण ब्यवसायीलाई निर्माण सम्पन गरेको कामको भुक्तानी नदिएर राज्यले भरोसा र विश्वास गुमाएको भन्दै महासंघले निर्मण व्यवसायीको आन्दोलनको सम्बोधन गरी तुरुन्तै समस्या समाधान गर्न माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार