अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री महत

शुक्रबार, भदौ १५, २०८०

काभ्रे - अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारकोे लागि बजेट अभाव नहुने बताएका छन् । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ । 

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् । “अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन”, मन्त्री डा महतले भने । 

तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि यस सडककाे निर्माण थालिएको थियो । 

साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमिमा रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता गरिएको छ ।

मन्त्री डा. महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चीनले चासो दिएकोबताए । ‘उक्त सडक स्तरोन्नतिले काभे्रपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने छ,’ महतले भने । 

मन्त्री डा महतले हाल विदेशी मुद्राको सञ्चिति यथेष्ट भएकाले आयात निर्यातमा कुनै समस्या नभएको बताए । 
उनले भने, “विदेशी र स्वदेशी पर्यटकको चहलपहल बढेको छ, यसले पनि आर्थिक अवस्थालाई टेवा पुग्नेछ ।” 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार