रुसी राष्ट्रपति पुटिन ‘जी–ट्वेन्टी शिखर सम्मेलन’मा सहभागी नहुने 

मंगलबार, भदौ १२, २०८०

नयाँदिल्ली– विश्वका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी ट्वेन्टीको आगामी महिना भारतको नयाँदिल्लीमा हुने शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । 

आगामी सेप्टेम्बर ९ र १० मा  हुने उक्त शिखर सम्मेलनमा सहभागी नहुने जानकारी राष्ट्रपति पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएका हुन् । उनले प्रधानमन्त्री मोदीलाई फोन गरेर विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो तर्फबाट शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिएको भारतीय  प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

यसअघि रुसी सरकारका प्रवक्ताले व्यस्त कार्यतालिका भएकाले राष्ट्रपति पुटिन जी २० शिखर सम्मेलनमा सहभागी नहुने बताएका थिए ।

अन्तरराष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका असर घटाउने र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने जी २० मा अमेरिकी राष्ट्रपति जो बाइडेन, संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकलगायत विश्वका नेताहरु सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्