सानुको अन्त्येष्टी : सारुकको आत्महत्याबारे छानविन गर्न कलाकारहरुको माग 

आइतबार, भदौ १०, २०८०

काठमाडौं - कलाकार सानु ताम्राकारको अन्त्येष्टीका लागि पशुपति आर्यघाट पुगेका कलाकारहरुले उनको परिवारलाई न्याय दिन माग गरेका छन् । छोरा सानु ताम्राकारले आत्महत्या गरेको दुई महिना नबित्दै उपचारका क्रममा सानुको निधन भएको हो । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले मुलुकले एउटा निकै राम्रो कलाकार गुमाएको बताए । ताम्राकारको निधनले चलचित्र क्षेत्र स्तब्ध भएको उनले बताए । 

‘सारुकको वियोगले  नै उहाँको मृत्यु भयो । जसको प्रति एउटा बुढो बाउ कति आश थियो होला । यस्तो घटना (सारुक आत्महत्या) किन भयो ? र कसरी भयो भनेर अझै पनि छानविन गरेर सत्यतथ्य बाहिर निकालिदियोस् । सबैले जान्न चाहुन्,’ केसीले भने । 

कलाकार कृष्ण मल्लले पनि सारुक ताम्राकारको आत्महत्याका विषयमा पनि छानविन हुनुपर्ने बताए । 

‘सानु दाईको आत्माले त्यतिबेला मात्रै शान्ति पाउँछ । जतिबेला उहाँको छोराको मृत्युको कारक तत्व प्रहरीले अनुसन्धान गरेर पत्ता लगाउँछ,’  मल्लले भने, ‘त्यसपछि मात्रै सारुकको आत्माले शान्ति पाउँछ भन्ने विश्वास छ । हामीले सबैले यो विषयलाई उठान गर्न जरुरी छ । उहाँको परिवारमा अब भाउजूबाहेक कोही हुनुहुन्न । उहाँलाई यो धैर्य धारण गर्ने शक्ति मिलोस् भन्छु ।’

कलाकार दीपकराज गिरीले पनि यस घटनामा छानविन हुनुपर्ने बताए । त्यसैगरी, अभिनेत्री दीपा श्री  निरौलाले कलाकारका हक–हितका लागि खुलेका सबै संगठनले यस घटनाबारे छानविन गर्नुपर्ने बताए । 

कलाकार सुवास गजुरेलले पनि सारुकलाई आत्महत्या गर्ने अवस्थामा पुर्‍याउने व्यक्तिको खोजी गर्नुपर्ने बताए । ‘ कसले सारुकलाई आत्महत्या गर्ने सोचमा पु¥यायो ? यो खोज्न जरुरी छ । अपराध गर्नेलाई दण्ड सजाय हुन जरुरी छ । किनकी, पुत्र वियोगले नै बाबुको ज्यान गयो । एउटाले गर्दा दुईजनाको देह त्याग भयो । यस घटनाको निष्पक्ष छानविन हुनुपर्यो,’ उनले भने । 

गत असार २१ गते कलाकार सारुक ताम्राकारको शव आफ्नै घरमा रेलिङमा झुन्डिएको अवस्थामा भेटिएको थियो । पुत्र वियोगपछि विक्षित अवस्थामा पुगेका सानुलाई साउनको पहिलो साता अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समय आईसियुमा राखेर उनको उपचार गरिएको थियो । शनिबार उपचारकै क्रममा उनको निधन भएको हो । 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्