रावणका १० थिए, रविका ८ टाउकाः देख्दा ज्ञानी, यस्तो छ अर्को कहानी

बुधबार, साउन ३१, २०८०

काठमाडौं ज्ञानी भएर पनि हिन्दू धर्ममा सर्वोच्च खलनायक साबित गरिएको छ, दशमुखे रावणलाई। रावणलाई आफ्ना नीच भावना त्याग गर्नका लागि राजा महाबलीले भन्दा उसले त्यसैलाई आफ्नो शक्ति ठानेको चर्चा कतिपय पौराणिक कथामा उल्लेख छन्।

हिन्दू परम्परा अनुसार आफ्ना भावनाहरूलाई नियन्त्रणमा राखेर प्रज्ञाको उपयोग गर्दा सर्वोच्चता हासिल गर्न सकिन्छ। तर रावण त्यसलाई मान्न तयार भएनन्। रिस, अभिमान, ईर्ष्या, खुशी, डर, स्वार्थ, वासना र महत्वाकांक्षा नीच संवेग हुन्। रावणका नौ शिरले यिनैको प्रतिनिधित्व गर्छन् भने दशौं शिरले प्रज्ञाको। राजा महाबलीले त्यसैकारण रावणलाई एक शिर राखेर अरूलाई त्याग्न सल्लाह दिएका थिए।

अर्कोतिर एकथरी विद्वानहरू रावणका दश शिरले चार वेद र ६ दर्शन शास्त्रको प्रतिनिधित्व गर्ने मान्यता राख्छन्। रावण राक्षस भए पनि प्रकाण्ड विद्वान् थियो भन्ने रामायणमा नै लेखिएको थियो।

विश्रवण ऋषि र कैकशी दैत्यका छोरा रावणलाई ६४ विद्या र शस्त्रको ज्ञान थियो। अर्कप्रकाश, कुमारतन्त्र, इन्द्रजाल, प्राकृत लंकेश्वर लगायतका ग्रन्थ रावणले रचेको मानिन्छ।

यहि विरोधाभाष परिचय जसरी रावणका बारेमा उल्लेख छ। त्यसरी नै नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र प्रत्यक्ष निर्वाचित सांसदका पनि विरोधाभाष चर्चा सतहमा आएका छन्। कतिपय चर्चा पनि भइरहेका छन्।

यहि विरोधाभाषबारे टिप्पणी गरिएको छ।

रवि लामिछानेः सञ्चारकर्ममा भुईँमान्छेका सवाल उठाएर राजनीतिमा प्रवेश गरी छाटो अवधिमा रास्वपा स्थापना गर्ने उनको खुबीलाई धेरैले स्वीकार गरेका छन्। तर निजी विवाद र आवेगलाई संयमता अनपाउन नसक्ने विरोधाभाष चरित्र पनि उनमा देखिएको छ।

दोहोरो नागरिकता र राहदानी बोकेको अभियोगको सामना गर्दा सांसद पद खारेज भएको थियो। लामो समय अमेरिका बसेर फर्किएर सञ्चारकर्ममा लागेका उनलाई सहकर्मी आत्महत्या दुरुत्साहनको मुद्दा लागेको थियो। तर त्यसमा उनले सफाई पाए। आलोचना फिटिक्कै सहने बानी नरहेका उनी मूलधारका मिडियाविरुद्ध खनिँदा पनि आलोचनाका पात्र बनेका थिए। उनी चितवन२ बाट २ पटक निर्वाचित भएका थिए।

डा. स्वर्णिम वाग्लेः अर्थशास्त्रमा राम्रो दख्खल राखी देश विदेशका विभिन्न निकायमा काम गरेको अनुभव सँगालेका वाग्ले मौकापरस्त रहेको मानिन्छन्। उपनिर्वाचनमा तनहुँ१ मा निर्वाचनमा जित निकालेका उनको बौद्धिकताको प्रशंशा भए पनि कतिपय विषयमा आलोचित छन्।

सर्वाधिक विवाद भएको अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउनका लागि उनले पैरवी गरेको आरोप लाग्दै आएको छ। यति मात्र होइन, आफ्ना परिवारलाई विदेशमा राखेर आफूचाहिँ स्वदेशको चर्चा गर्ने? भनी उनको आलोचना हुन्छ। 

सोबिता गौतमः महिला नेत्री भैकन मुद्दाको राम्रो पैरवी गर्ने, जाँगर देखाउने र ज्ञान राख्ने क्षमता भएकी सांसदमा उनको नाम आउँछ। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनी एउटा अब्बल सांसदका रुपमा परिचित भइन्। तर, बलात्कारका विषयमा उनले प्रवाह गरेको दृष्टिकोणको सर्वत्र आलोचना भएको थियो। यति मात्र नभएर उनको विवाहको विषय पनि पछिल्लो पटक विवादमा आयो। त्यसको प्रतिक्रियामा उनले सबैलाई मुद्दा हाल्ने धम्की आम सञ्चारमाध्यममा दिएकी थिइन्। यसबाहेक सांसदको सेवासुविधा कम भयो भनी उनले दिएको अन्तरवार्ता विवादमा थियो।

शिशिर खनालः शिक्षासम्बन्धी गैर सरकारी संस्था चलाउँदा चलाउँदै रास्वपाको उम्मेदवार भई काठमाडौं६ बाट निर्वाचित खनाल शिक्षा मन्त्री बनेका थिए। शिक्षाका क्षेत्रमा सकारात्मक काम गरेका कारण उनलाई सोही मन्त्रालयको जिम्मेवारी दिए पनि विवादबाट अलग हुन सकेनन्।

खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै विवादमा आयो। खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णयको विद्यार्थी संगठनले विरोध मात्र  गरेनन्, उनको पुत्ला दहन नै गरिदिए।

सो निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले बिरोध जनाएका थिए।

गणेश पराजुलीः काठमाडौं७ बाट निर्वाचित पराजुली संसदमा त्यति धेरै बोल्ने प्रतिनिधि सभा सदस्य मानिँदैनन्। धेरै चर्चा र विवाद नभए पनि उनले रास्वपाका अडिओ प्रकरणबाट विवादमा आई कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको बचाऊका लागि प्रयास गरेको बताइन्छ। उनले श्रेष्ठको सांसद पद जोगाउनका निम्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित लविङ गरेका थिए तर त्यो सम्भव हुन सकेन। रास्वपाले नै श्रेष्ठलाई कारबाही गरेपछि पराजुलीको गलत प्रयास रहेको टिप्पणी भएको थियो।

विराजभक्त श्रेष्ठः प्रतिनिधि सभा होस् वा कुनै अन्तरवार्ता त्यसमा खुलेर आफ्ना मत राख्ने श्रेष्ठ काठमाडौं८बाट निर्वाचित भएका थिए। ०७४ मा तत्कालिन विवेकशील साझा पार्टीबाट प्रदेश सभामा प्रतिनिधित्व गरेका उनी रास्वपामा आएपछि भने संसदीय दलको उपनेताको जिम्मेवारीमा रहे पनि आइसोलेटेड भएको बताइन्छ।

उनलाई त्यस्तो गम्भिर आरोप र विवाद आई नलागे पनि वैकल्पिक राजनीतिमा अवसरवादी बनेको आरोप लाग्छ। उनले विवेकशील पार्टीको भविष्य भन्दा पनि व्यक्तिगत नाफा हेरेर रास्वपा रोजेको वैकल्पिक राजनीतिको वकालतकर्ताहरू नै भन्छन्।

डा. तोसीमा कार्की: कार्की ललितपुर३मा हेवीवेट उम्मेदवारका लागि भारी बनेर जित निकालेकी सांसद हुन्। सदनमा बुँदागत हिसाबमा स्वास्थ्यका क्षेत्रमा सवाल राख्ने उनी स्वास्थ्य राज्यमन्त्री पनि बनिन्। तर, उनी पनि विवादरहित भइनन्।

उनको उम्मेदवारीमा नै मुद्दा परेको थियो। त्यसबाहेक पछिल्लो पटक भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएपछि शोकका बेला दिएको अभिव्यक्तिले कार्की विवादमा आइन्। उनको सामाजिक सञ्जालमा ट्रोल पनि बन्यो।

हरि ढकालः चितवन१बाट निर्वाचित ढकाल सदनमा फरक शैली र प्रस्तुतीमा प्रकट हुन्छन्। उनले राख्ने मत बलियो नै हुने गरेको देखिन्छ। तर, उनी विवादीत शेयर कारोबारी रहेको टिप्पणी बजारमा छ। त्योसँगै स्थानीय निर्वाचनमा काठमाडौंका मेयर बालेन साहको सहयोगीका रुपमा रहेका उनी रास्वपा खोल्नासाथ त्यतातिर लागेको भन्ने चर्चा पनि व्यापक छ।

प्रतिक्रिया दिनुहोस्