पानी पर्नासाथ राजमार्ग किन अवरूद्ध हुन्छ ?

मंगलबार, साउन २३, २०८०

काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षात्का कारण देशैभरका प्रमुख राजमार्ग अवरुद्ध छन् भने जनजीवन कष्टकर बनेको छ ।  

रातिदेखि परेको लगातारको भारी पर्षाका कारण अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सिद्धार्थ राजमार्ग समेत अहिले एकतर्फी मात्र सञ्चालनमा छ । भिमदत्त राजमार्ग अहिले अवरुद्ध छ । वीपी राजमार्गको सिन्धुली जिल्लाको कमेरेफाँटमा समेत सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

सडक माथिबाट पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको छ । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले लामो समयसम्म सडकमै बस्नुपरेकाले समयमै गन्तव्यमा पुग्न पाएका छैनन् ।

सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिराले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ ।

चितवनको इच्छाकामना गाउँपालिकाको कालिखोलानजिकै पहिरो खस्दा रातिदेखि अवरुद्ध बनेको सडक विस्तारै दुईतर्फी खोल्ने प्रयास भईरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

वर्षाका कारण काठमाडौंलाई मकवानपुर जोड्ने कान्ती लोकपथ पनि अवरुद्ध बनेको छ । त्यस्तै नुवाकोटको पासाङल्हामु सडकसमेत अवरुद्ध भएको छ ।  कालिगण्डकी करिडोर पनि अहिले अवरुद्ध छ ।

यस करिडोरको बागलुङ नगरपालिका १० गलुवामा पहिरोले सडक अवरुद्ध बनाएको छ । तिनहुँ गाँउपालिका पाल्पाको ड्याम साइडमा गएको पहिरोले यो सडक खण्ड प्रभावित बनेको हो ।

कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला र चुरे गाउँपालिकाको गोपालेमा गएको पहिरोले यो सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । प्यूठानको भालुवाङ सडक खण्ड पनि अवरुद्ध भएको छ । यसको माण्डवी गाउँपालिका १ को गर्जेनी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको हो ।

पूर्वी नेपालतर्फ पाँचथरको तमोर कडिडोर अवरुद्ध बनेको छ । पाँचथरको फिदिम ४ मा पहिरो गएको हो काभ्रेको रोशी गाउँपालिका कालढुंगामा सडक अवरुद्ध बनेको छ ।

गुणस्तरमा ध्यान नदिदाँको नतिजा : आशिष गजुरेल, पूर्वाधारविद्

गुणस्तरलाई ख्याल नगरी सडक निर्माण भएका कारण यस्तो अवस्था निम्तिएको पूर्वाधारविद् आशिष गजुरेल बताउँछन् । ‘मुख्य कुरा हामी डिजाइनिङमा चुकेका छौं । अर्कोतर्फ, स्रोत पनि कम छ । कनिका छरेजस्तो गरेर बजेट छरिएको छ ।  नियगमनमा पनि चुकेका छौं,’ उनले भने,  ‘हाम्रोमा एकैपटक धेरै सडक बन्छन् । दार्चुलामा पनि बनाउनुपर्र्छ, मनाङ–मुस्ताङमा पनि बनाउनुपर्छ । ताप्लेजुङमा पनि बनाउनुपर्छ । तर, गुणस्तरीय सडक बनाउँदा कति स्रोत आवश्यक पर्छ भन्ने ख्याल गरिदैंन । कनिका छरेजसरी बजेट छरेर सडक निर्माण गर्दाको नतिजा हो यो ।’

विपि राजमार्गको उदाहरण दिदैं उनले भने,‘जापानले आफ्नो प्रत्यक्ष रेखदेखमा यो सडक निर्माण गरेको थियो । त्यसैले यहाँ राम्रो ड्रेजेन सिस्टम र रिटेनिङ स्ट्रक्चर छ । त्यसैले पहिरो जाँदा पनि खासै क्षति हुँदैन ।’

उनले थपे,‘ हामीले आफ्नै स्रोतमा बनाएका राजमार्गहरु भने गुणस्तरीय बन्न सकेनन् । ड्रेन त छ । तर, अव्यवस्थित अर्थात् राम्रोसँग पानी बग्ने अवस्था छैन । कति ठाउँमा छ कति ठाउँमा छैन, पानी बग्ने स्लोपहरु पनि छैन ।’

पहिरो खस्न नदिनका लागि सडकका दुबैतर्फ रिटेनिङ वाल बनाउनुपर्ने भएपनि राजमार्गहरुमा कतिपय ठाउँमा यस्तो नरहेको उनले बताए ।

‘पहाडी भूभागमा सडकको दुबैतर्फ रिनेटिङ वाल लगाउनुपर्ने हुन्छ । एकतिर सडकमाथि र अर्काेतिर सडकमुनी । नत्र, सडकमूनीको भाग काटिन्छ वा भासिन्छ । तर धेरै ठाउँमा यस्तो छैन ।’ पछिल्लो समय विकासका नाममा गाउँ–गाउँमा सडक खन्ने क्रम सुरु भएपनि गुणस्तरलाई ख्याल नदिइएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्