सुडानमा द्वन्द्वमा मारिएका ८७ जनाको चिहान भेटियो

शुक्रबार, असार २९, २०८०

खार्तुम– सुडानको आरएसएफले हत्या गरेका ८७ जनाको शव डार्फरमा फेला परेको छ ।

सुडानी अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) र तिनका सहयोगीले मारेको भनिएको कम्तीमा ८७ जनाको शव पश्चिम डार्फर राज्यको राजधानी एल–जेनिनाबाहिर रहेको एक सामूहिक चिहानबाट फेला परेको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको कार्यालयले गत जुन १३ देखि २१ को बीचमा एल–जेनिनाको अल–मदारेस र अल–जमारेक जिल्लामा मासालित समुदाय र अन्य ८७ जनाको हत्या भएको थियो । उक्त चिहानमा जुन १४ मा आरएसएफको हिरासतमा वेस्ट डार्फरका गभर्नर खामिस अब्बेकरको हत्यापछि भएको हिंसाका धेरै पीडित भेटिएको जनाइएको छ ।

फेला परेका शवमध्ये सात जना महिला र सात जना बालबालिका रहेका छन् । उनीहरूको उपचार नगरिएका चोटपटकका कारण मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घको कार्यालयले उनीहरूलाई सामूहिक चिहानमा गाड्न बाध्य पारिएको र उचित तरिकाले गाड्न नदिएको दाबी स्थानीयले गरेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त भोल्कर तुर्कले जारी गरेको वक्तव्यमा आरएसएफ र सुडान द्वन्द्वका अन्य पक्षलाई जातीय पृष्ठभूमिका आधारमा मृतकको तत्काल खोजी गर्न, उनीहरूलाई सङ्कलन गर्न र कुनै भेदभाव नगरी स्थानान्तरण गर्न अनुमति दिन र सहजीकरण गर्न आह्वान गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०६:०६
प्रतिक्रिया दिनुहोस्