नेभिगेशन
विश्व

अहमदाबादबाट लन्डन उड्न लागेको एयर इन्डियाको उडान एक्कासि रद्द

काठमाडौं- भारतको एयर इन्डिया एयरलाइन्सको मंगलबार हुनुपर्ने अहमदावाद–लन्डन फ्लाइट रद्द भएको छ ।

भारतको गुजारतको अहमदावादको सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भर्न लागेको एआई १५९ फ्लाइट एक्कासि रद्द गरिएको हो । यो विमान दिउँसो एक बजे उड्नु पर्नेमा रद्द गरिएको हो ।

एयर इन्डिया एयरलाइन्सले फ्लाइट एआई १५९ रद्द हुनुको कारणमा विमान उड्ने अन्तर्राष्ट्रिय हवाइ क्षेत्र (एयर स्पेस) को उपलब्धता नहुनु रहेको स्पष्टीकरण दिएको भारतको टाइम्स अफ इन्डियाले जनाएको छ ।

साथै एयर इन्डियाले विमानमा आएको प्राविधिक गडबडीका कारण रद्द भएको भन्ने आफवाहहरुलाई निराधार भएको पनि बताएको छ ।

एक विज्ञप्ति निकाल्दै एयर इन्डियाले भन्यो, “आज अहमदाबादबाट ग्याटविक जाने उडान एआई १५९ विमानको एयर स्पेस उपलब्धताको नभएका कारण रद्द गरिएको छ। यो हवाई क्षेत्रमा लागू प्रतिबन्धहरू र अतिरिक्त सावधानीका कारण विमानहरूको सामान्यभन्दा बढी समय लाग्ने टर्नअराउण्डको परिणाम हो, दाबी गरिएको जस्तो कुनै प्राविधिक समस्याको कारण होइन ।”

“हामी हाम्रा यात्रुहरूलाई पर्न गएको असुविधाको लागि माफी माग्न चाहन्छौं र उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक व्यवस्था गरेका छौं । हामी होटल आवास प्रदान गर्दैछौं र यात्रुहरूले रद्द गर्न चाहेमा पूर्ण रकम फिर्ता वा निःशुल्क पुनः निर्धारण (रिसेड्यूलिङ) को सुविधा पनि दिँदै छौं । यसको परिणामस्वरूप, १७ जूनमा लन्डन ग्याटविकबाट अमृतसर जाने उडान एआई १७० को उडान पनि रद्द गरिएको छ,”विज्ञप्तिमा भनिएको छ ।

गत बुधबार भारतको सोही सरदार वल्लभ भाइ पटेल अन्तराष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडेको विमान केही सेकन्डभित्र दुर्घटना भएको थियो ।

त्यसै सन्दर्भमा आजको एआई १५९ उडान हुन नसक्दा विभिन्न अफवाहहरु फैलिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व