पाकिस्तान बाढी : ६ जनाको मृत्यु, ९ घाइते

बुधबार, असार २७, २०८०

इस्लामाबाद– पाकिस्तानमा विगत २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

    बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाएका मध्ये तीन महिला र एक बालक रहेको एनडिएमएले बताएको छ । गत जुन २५ देखि सुरु भएको  मनसुनी वर्षा र बाढीबाट पाकिस्तानमा हालसम्म ८६ जनाले ज्यान गुमाएका छन् भने एक सय ५१ जना घाइते भएका एनडिएमएले जनाएको छ ।

    बाढीबाट पूर्वी पञ्जाब प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र छ । त्यहाँ ५२ जनाको मृत्यु भएको छ भने उत्तरपश्चिमी खैबर पख्तुनख्वामा २० जनाले ज्यान गुमाएका छन् । विभिन्न भागमा ९७ घर ध्वस्त भएका र ४६ वटा चौपाया पनि मरेका छन् । 

    बाढी प्रभावित क्षेत्रमा एनडीएमएलगायत अन्य सरकारी सङ्घसंस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार तथा राहतका काम जारी छन् ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्