पाकिस्तानलाई साउदी अरेबियाले गर्‍यो २ अर्ब डलर सहयोग

बुधबार, असार २७, २०८०

इस्लामााद– नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदी अरेबियाले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ । 

    विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मङ्गलबार साउदी अरबबाट दुई अर्ब डलरको निक्षेप प्राप्त भएको हो । देशको आर्थिक सङ्कटबाट जोगाउन अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग यसै महिना नयाँ सम्झौता अनुमोदन हुन लागेका बेला साउदी अरेबियाबाट प्राप्त सहयोगले इस्लामाबादलाई ठूलो राहत मिलेको छ । 

    अर्थतन्त्र भुक्तान सन्तुलनको सङ्कटबाट ग्रस्त छ भने बाह्य ऋण सेवा प्राप्तिको प्रयास पनि असफल भएको छ । महिनौँको राजनीतिक अराजकताले विदेशी लगानीलाई निरुत्साहित भएको छ । मुद्रास्फीति ह्वात्तै बढेको छ । पाकिस्तानी रूपैयाँ डलरको तुलनामा कीर्तिमानी न्यून विन्दुमा पुगेको छ । देशलाई आयात धान्न धौ धौ परिरहेको छ भने औद्योगिक उत्पादनमा गम्भीर गिरावट आएको छ ।

    “साउदी अरेबियाले पछिल्लो समय स्टेट बैंक अफ पाकिस्तानको खातामा थप दुई अर्ब डलर जम्मा गर्ने घोषणाअनुरूप बैंकको खातामा उक्त रकम जम्मा भएको छ,” पाकिस्तानका अर्थमन्त्री इशाक दारले पत्रकार सम्मेलनमा भने । 

    स्ट्यान्डर्ड क्यापिटल सेक्युरिटीजका अनुसन्धान विश्लेषक फैसल शाजी पछिल्लो निक्षेपले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिलाई स्थिर बनाउने र अन्तरराष्ट्रिय बजारमा यसको ‘क्रेडिट रेटिङ’मा सुधार बताउँछन् । आइएमएफको सहायता कार्यक्रमका निमित यो ठूलो र सकारात्मक विकास भएको तर्क गर्दै उनले यसबाट पाकिस्तानको मुद्रा बलियो हुने र त्यसले शेयर बजारमा राम्रो प्रभाव दाबी गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्