पलको प्रश्न- बलात्कारी भनेर निधारमा लेखौँ कि रत्नपार्कमा आत्मदाह गरौँ ?

मंगलबार, असार २६, २०८०

काठमाडौँ– एक टेलिभिजन अन्र्तवार्ताको विषयलाई लिएर विभिन्न आफूमाथि विभिन्न टीकाटिप्पणी हुन थालेपछि अभिनेता पल शाहले आक्रोश पोखेका छन् । नाबालिग बलात्कारको घटनामा अदालतले सफाइ दिइसकेपछि पनि आफूमाथि ‘बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति उनले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जनाएका हुन् ।

कान्तिपुर टेलिभिजनमा सन्दीप क्षेत्रीले लिएको अन्तर्वार्तालाई लिएर उनको बारेमा विभिन्न टिप्पणी भइरहेकोप्रति पलले असन्तुष्टि जनाउँदै प्रश्न गरेका छन् ।

‘मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला, जहिले बलात्कारीको ट्याग दिँदा ?’ सोमबार राति उनले फेसबुकमा लेखेका छन्– ‘कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ?,’ उनले प्रश्न गरेका छन्, ‘के अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौँ ? मलाई पल शाह बनाएको तपाईँहरूले हो । यसकारण म प्रश्न पनि तपाईँहरूसमक्ष नै गर्न चाहन्छु, म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिँडौँ ? कसरी बोलौँ ? कसरी खाऊँ ? कसरी लाऊँ ? ‘कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खलमखुला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?’

Sandeep criticised for making fun of rape issue on national TV | Ratopati |  No.1 Nepali News Portal

एउटा कार्यक्रममा पलबाट पीडित नाबालिग गायिकाको पनि अन्तर्वार्ता आएको थियो। अन्तर्वार्तामा उनी आफ्नो दाइले वैदेशिक रोजगारीमा कमाएको पैसाले घरको तला थप्दा पनि समाजले बालयौन दुरुपयोगमा तोकेको १० लाख क्षतिपूर्तिले बनाएको भनेर खिस्याएको भन्दै भावुक बनेकी थिइन् । 

यता पलले सञ्चालक सन्दीपको कार्यक्रम ‘ह्वाट्स द फ्लप’मा अन्तरवार्ता दिँदै हिरासत र कैदजीवनको अनुभव सुनाएका थिए । उनले हाँस्दै यो सबै अनुभव सुनाएका थिए ।

नाबालिग बलात्कारजस्तो गम्भीर अभियोगमा जेल पर्दाको अनुभव सुन्दै कलाकारसमेत रहेका सन्दीपले लिएको मजा लाजमर्दो देखिएको टिप्पणी भइरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार