अमेरिकी अर्थमन्त्री येलेनको चीन भ्रमण : सम्बन्धलाई ‘जिम्मेवारीपूर्वक व्यवस्थापन’ गर्ने प्रयास

मंगलबार, असार १९, २०८०

वासिङ्टन– विश्वका शीर्ष दुई अर्थतन्त्रबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता बेइजिङको भ्रमण गर्ने भएकी छिन् । 

अमेरिकी अर्थमन्त्रालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा बेइजिङमा चीनका शीर्ष नेता सी चिनपिङ र विदेशमन्त्री किन गाङसँग भेटवार्ता गरेको केही हप्तापछि येलेनको जुलाई ६ देखि ९ सम्मको भ्रमण हुन लागेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “येलेनले आफ्ना समकक्षीहरूसँग ‘सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न, चासोका क्षेत्रहरूको बारेमा प्रत्यक्ष संवाद गर्न र विश्वव्यापी चुनौतीहरूको सामना गर्न सँगै काम गर्न’ दुवै देशको महत्वबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।”

करिब पाँच वर्षमा चीनको राजधानी बेइजिङ भ्रमण गर्ने सबैभन्दा उच्च पदस्थ अमेरिकी अधिकारी ब्लिन्केनको गत महिना भएको भ्रमण दुर्लभ भएको र यस क्रममा वासिङ्टन र बेइजिङबीचको तनावपूर्ण सम्बन्धमा आफूले प्रगति देखेको चिनियाँ राष्ट्रपति सीले बताएका थिए । 

बेइजिङमा येलेनले चीनसँगको आर्थिक सम्बन्धलाई अमेरिकाले कसरी हेर्छ भन्ने विषयमा छलफल गर्ने एक वरिष्ठ अर्थ अधिकारीले आइतबार बताएकी छिन् ।
 
उनले चीनका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने र प्रमुख अमेरिकी कम्पनीको अवलोकन गर्नुहुनेछ अमेरिकी मन्त्रालयका प्रवक्ताले बताइन् । “अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा हित सुरक्षित गर्न र मानव अधिकारको रक्षा गर्न चाहेको भए तापनि यस सम्बन्धी कार्यहरू ‘चीनमाथि आर्थिक लाभ प्राप्त गर्ने उद्देश्य’ ले गरिएको होइन,” उनले भनिन् । 

“वासिङ्टनले बेइजिङसँगको ’स्वस्थ’ सम्बन्धलाई पनि हेर्छ र जलवायु परिवर्तन र कर्जा संकटजस्ता अत्यावश्यक चुनौतीहरूमा सहकार्य गर्दै अर्थतन्त्रलाई कमजोर बनाउन चाहँदैन,” उनले थपिन् । 

संयुक्त राज्य अमेरिकाले यस प्रारम्भिक यात्राबाट ‘महत्वपूर्ण सफलता’को अपेक्षा गर्दैन, तर यसले चीनसँग सञ्चारको दीर्घकालीन च्यानलहरू निर्माण गर्ने लक्ष्य राखेको छ, अमेरिकी अर्थ मन्त्रालयका एक वरिष्ठ कर्मचारीले बताए । 

‘काउन्सिल अन फरेन रिलेसन्स ९सीएफआर०’ का वरिष्ठ सदस्य एडवर्ड एल्डेनले एएफपीसँग भने, “मलाई लाग्छ कि अमेरिकी सरकारले स्पष्ट रूपमा आर्थिक सम्बन्धको बिग्रँदो अवस्थालाई कम गर्न प्रयास गरिरहेको छ ।’’

येलेनको यात्राले ‘तल्लो स्तरमा वार्ता र छलफलको स्थिर ढाँचा पुनः सुरु गर्न सक्छ,” उनले भने, “पछिल्लो समय अमेरिकाले समस्यालाई कसरी समाधान दिने भन्नेतिर भन्दा जोखिम कम गर्ने अस्पष्ट रणनीतिलाई अपनाएको देखिन्छ ।’’

एल्डेनले भने, “यसको अर्थ रणनीतिक महत्व भएका वस्तुहरूको संकुचित दायरामा ध्यान केन्द्रित गर्नु हो, ती वस्तुहरूको वरिपरि तारबार निर्माण गर्ने प्रयास गर्नु हो । तर अमेरिका–चीन आर्थिक सम्बन्धलाई उचित रूपमा बलियो बनाउन जारी राख्ने प्रयास गर्नु उचित हो ।”

तर पर्यवेक्षकहरूले दुई सिद्धान्त र परिवेशबाट अघि बढिरहेका दुई ठूला अर्थतन्त्र भएका मुलुकका जिम्मेवार अधिकारीको भ्रमणले तनावको शीघ्र समाधान दिनेमा खासै आशा नगरेको देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्