Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँका १० मध्ये २ स्थानीय तहको बजेट पारित

सोमबार, असार १८, २०८०

दमौली– तनहुँका दश स्थानीय तहमध्ये दुई स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् ।

samridhi jewllers

असार १० गते एकै दिन चार नगरपालिका र छ गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले बजेट पारित गरेका छन् । अन्य आठ स्थानीय तहको बजेट पारित हुन बाँकी छ । 

भिमाद नगरपालिकाले आगामी वर्षका लागि रु ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७० को बजेट पारित गरेको छ । पारित बजेटमध्ये चालुतर्फ रु ४३ करोड ९८ लाख ५६ हजार र पूँजीगततर्फ रु १९ करोड ९१ लाख विनियोजन गरिएको छ । 

नगरपालिकाका उपप्रमुख शारदा खनालका अनुसार सामाजिक विकासतर्फ ३४ करोड ६३ लाख, पूर्वाधार विकासतर्फ रु १३ करोड ३७ लाख, सुशासन तथा अन्तरिकतर्फ रु एक करोड ३२ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु १० करोड ८९ लाख विनियोजन गरिएको छ । 

आम्दानीतर्फ आन्तरिक स्रोतबाट रु एक करोड ८० लाख, राजस्व बाँडफाँटबाट रु १३ करोड ५० लाख ३५ हजार सात सय, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु ४४ करोड ७९ लाख १३ हजार, प्रदेश सरकारमार्फत रु दुई करोड ८७ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट बनाएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

त्यसैगरी, म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ५५ करोड ५३ लाख ५० हजारको बजेट पारित गरेको छ ।

गाउँपालिकाले चालुतर्फ रु २१ करोड ५३ लाख ८५ हजार र पूँजीगततर्फ रु ३२ करोड ५७ लाख ८२ हजार बजेट विनियोजन गरेको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । जसमध्ये चालुतर्फ ३८ दशमलव ७८ प्रतिशत र पूँजीगततर्फ ५८ दशमलव ६६ प्रतिशत बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले चालुतर्फभन्दा विकासतर्फ प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । 

आम्दानीतर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरणबाट रु नौ करोड, ससर्त अनुदानबाट रु ८० लाख, राजस्व बाँडफाँडबाट रु ३२ लाख, विशेष अनुदानबाट रु एक करोड पाँच लाख, समानीकरणबाट रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । 

गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट रु एक करोड २१ लाख, राजस्व बाँडफाँडबाट रु ४० लाख, विशेष अनुदानबाट रु ५० लाख, ससर्त अनुदानबाट रु एक करोड प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक आम्दानीबाट रु सात करोड ४२ लाख हुने अनुमान गरिएको छ । 

गाउँपालिकाले पूर्वाधार विकासतर्फ रु १८ करोड ३६ लाख, आर्थिक विकासतर्फ रु चार करोड ५५ लाख, सामाजिक विकासतर्फ रु १९ करोड ६१ लाख ८५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड, सुशासन र संस्थागत विकासतर्फ रु ११ करोड बजेट विनियोजन गरेको छ । 

समृद्ध गाउँपालिका निर्माण गर्ने ध्येयका साथ प्रस्तुत गरिएको बजेटको सबै पक्षबाट कार्यान्वयनमा सहयोग हुने घिमिरेले बताए । जिल्लाका दश पालिकाले रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट ल्याएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्