जापानको टोकियोमा विष्फोट, ४ जना घाइते

सोमबार, असार १८, २०८०

टोकियो– जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विष्फोटमा परी चार जना घाइते भएका छन् । 

स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर शिम्बाशी स्टेसनबाट करिब ३०० मिटरको दूरीमा रहेको आठ तले भवनमा विष्फोटपछि आगलागी भएको थियो ।

टोकियो नगर प्रहरी विभागका अनुसार विष्फोटमा परी चारजना सामान्य घाइते भएका छन्, जसमध्ये दुई जना पैदल यात्री र दुई जना रेस्टुरेन्टका कर्मचारी रहेका छन् । 

विस्फोट हुँदा घटनास्थलबाट निकै टाढासम्म विस्फोटको आवाज सुनिएको र त्यसपछि भवनको दोस्रो तल्लाको एउटा कोठाबाट धेरै टुक्राहरू उडिरहेको देखिएको थियो। आगो तीव्र गतिमा फैलनुअघि ग्यासको हल्का गन्धसँगै कोठामा धुवाँको मुस्लो देखिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

घटनामा घाइते भएका व्यक्तिहरूको कपाल र लुगाहरू आंशिक रूपमा जलेका छन् । 

अग्नि नियन्त्रक विभागका अनुसार भवनको दोस्रो र तेस्रो तल्ला पूर्णरूपमा जलेको छ भने आगो निभाउन करिब ३१ वटा दमकल पठाइएको छ ।

घटनास्थल टोकियोको प्रमुख इन्टरचेन्ज रेलवे स्टेसनहरू मध्ये एक र गिन्जा किनमेल क्षेत्रबाट केवल १० मिनेटको पैदल दूरीमा धेरै कार्यालय, रेस्टुरेन्ट र आवासीय क्षेत्र रहेको शिम्बाशी स्टेशनको ३०० मीटर पश्चिममा पर्छ । 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्