मधेस प्रदेशमा यसपाली रासायनिक मलको अभाव नहुने

आइतबार, असार १७, २०८०

वीरगञ्ज– बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्ज पर्साले यस वर्ष असार महिनासम्म चाहिने जति मल गोदाममा रहेको र अन्य मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने जनाएको छ । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्ज पर्साका प्रमुख चन्द्रप्रसाद चम्लागाईँका अनुसार हाल युरिया छ हजार मेट्रिक टन र डिएपी तीन हजार मेट्रिक टन मल गोदाममा छ । 

गोदाममा मौज्दात रहेको मल असारसम्मका लागि पुग्ने र साउनको पहिलो साता थप मल आउने भएकाले यस वर्ष धानखेतीको समयमा मल अभाव नहुने प्रमुख चम्लागाईँको भनाइ छ । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्ज पर्सामा चालु आव २०७९/८० को १० महिनामा एक लाख ७० मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ । 

चालु आव २०७९/८० को साउनदेखि वैशाखसम्ममा एक लाख मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डिएपी मल प्राप्त भएको प्रमुख चम्लागाईँले जानकारी दिनुभयो । यसबाहेक थप २०–२० हजार युरिया र डिएपी खरिदका लागि बोलपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको र सो बोलपत्र स्वीकृत भएर मल आए पनि मलको माग अत्यधिक रहेकाले त्यो २०८० असारसम्म मात्र धान्न सकिने प्रमुख चम्लागाईँले बताए ।  

‘अहिलेसम्म युरिया र डिएपी गरी एक लाख ७० हजार मेट्रिक टन मल आइसक्यो, ५० हजार मेट्रिक टन मल आउने क्रममा छ र ४० हजार मेट्रिक टन मल बोलपत्र स्वीकृत प्रक्रियामा छ । हामीकहाँ आइसकेको, आउने क्रममा रहेको र बोलपत्र खरिद प्रक्रियामा रहेको मल सबै आयो भने पनि त्यो साउनसम्म धान्न सक्ने देखिन्छ । थप मलका लागि प्रक्रिया सुरु भइसकेकाले धानखेतीको समयमा मल अभाव नहोला कि भन्ने हाम्रो अनुमान छ’, प्रमुख चम्लागाईँले भने ।

 

उनले धानखेतीको मुख्य सिजन असार, साउन र भदौमा रासायनिक मलको माग अत्यधिक हुने भएकोले त्यो बेलासम्म अहिले प्राप्त भएको वा आउन लागेको मल पर्याप्त नभए पनि यस वर्ष साह्रै अभावचाहिँ नहोला भन्ने अनुमान गरे । धानखेतीको समयमा चाहिने थप मल खरिदका लागि अहिले नै प्रक्रिया सुरु गर्नुपर्ने उनको भनाइ छ ।

जिटुजीमार्फत खरिद भएको रासायनिक मल प्राप्त भएलगत्तै जिल्ला जिल्लामा मल पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । रासायनिक मल अभाव हुन नदिन मल प्राप्त भएलगत्तैबाट मलखाद्य बाँडफाँट भएअनुसार जिल्ला–जिल्लामा मल पठाउँदै आएको प्रमुख चम्लागाईँले बताए । 

मुलुकभर करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि हाल मागको करिब ५० प्रतिशत पनि आपूर्ति हुन नसक्दा बर्सेनि मलको हाहाकार हुने गरेको उहाँले बताउनुभयो । मागबमोजिम आपूर्ति नभए पनि अघिल्लो आव २०७८÷७९ को तुलनामा चालु आव २०७९/८० मा बढी मल आएको जनाएको छ । 

अघिल्लो आव २०७८/७९ मा युरिया ६० मेट्रिक टन र डिएपी ४० मेट्रिक टन मल आएको थियो । उहाँका अनुसार मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मधेस प्रदेशमा वर्षभरिका लागि चार लाख ६३ हजार मल चाहिने भन्दै पत्र पठाएको छ ।

‘यसरी हेर्दा अहिले आइरहेको मल मधेस प्रदेशकै लागि पनि अपुग हुने देखिन्छ । यस्तो स्थितिमा कसरी मल पुर्याउन सकिन्छ, सम्भव नै देखिँदैन । त्यसैले बर्सेनि मल अभाव हुनु स्वभाविक नै हो,’ उनले भने ।

सो कार्यालयमार्फत मधेस प्रदेशको आठवटै जिल्ला, बागमती प्रदेशका १० जिल्ला र गण्डकी प्रदेशको तनहुँ, लमजुङ, गोरखा, कास्की, पर्वतलगायतका जिल्लामा रासायनिक मल पठाउँदै आएको छ । बर्सेनि डिएपी र युरिया मल आपूर्ति कम भएपछि किसानलाई मलखाद्यको समस्या हुने गरेको नेपाल कृषक महासङ्घ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताए । मागअनुसार मलको आपूर्ति नहुदाँ बर्सेनि किसान मलका लागि डिलर चहार्ने गरे पनि सहजरूपमा पाउने अवस्था नरहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्