पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

बिहीबार, असार १४, २०८०

लुम्बिनी– बुटवल उपमहानगरपालिका–३ पहिरो प्रभावित क्षेत्र ज्योतिनगरमा आज वृक्षरोपण गरिएको छ । 

ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रमा आज बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको सुरुआत गरी एक हजार तीन सय बिरुवा लगाउने बताए । 

उनले ज्योतिनगर क्षेत्रको पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउनका लागि उपमहानगरपालिकाले ग्याबिन जाली लगाउने, कल्भर्ट बनाउने, रिटेनिङ वाल लगाउने र बाढी तर्काउने काम गर्दै आएको बताए । वृक्षरोपण अभियानअन्तर्गत एक हजार तीन सय बाँस र अम्रिसोका बिरुवा सो क्षेत्रमा रोप्ने कार्यक्रम रहेको उपमहानगरपालिकाले जनाएको छ । 

उपप्रमुख सावित्रादेवी अर्यालले पहिरो प्रभावित क्षेत्रका बस्ती सुरक्षित राख्नका लागि नगरले आवश्यक काम गरिरहेको बताए । उनले नगरको बजेटबाट मात्रै पहिरो नियन्त्रण सम्भव नभएकाले सङ्घ र प्रदेशले पनि विशेष चासो दिनुपर्ने बताए । 

गत वर्ष पाँच सय बिरुवा रोपिएको र अहिले एक हजार तीन सय बिरुवा रोपेपछि पहिरो रोकथाममा सहयोग पुग्ने स्थानीय अमृत खड्काले बताए । ज्योतिनगर क्षेत्र पासाङ टोल मिलन पथमा दुई वर्षअघि आएको पहिराका कारण छ सय घर प्रभावित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्