पाकिस्तानद्वारा निर्वासित पूर्वप्रधानमन्त्रीलाई स्वदेश फर्काउने कानुन पारित

मंगलबार, असार १२, २०८०

इस्लामाबाद– पाकिस्तानको राष्ट्रियसभा (नेसनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज शरिफलाई राजनीतिमा फर्कन बाटो खोलिदिएको छ । 

सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठहर्याउन सकिन्छ भन्ने विषयमा कानुन पारित गरेको पाकिस्तान सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

सन् २०१७ मा भ्रष्टाचारको आरोपमा सत्ताच्युत हुनुअघि शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । 

सर्वोच्च अदालतले उनलाई आजीवन राजनीतिमा प्रतिबन्ध लगाएपछि सात वर्षको जेल सजाय सुनाइएको थियो ।

सन् २०१९ मा उनलाई स्वास्थ्य उपचारका लागि विदेश जान जमानत दिइएको थियो र उनी बेलायत गएका थिए । 

त्यतिबेलादेखि शरिफ बेलायतमा नै रहेर पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) पार्टीलाई पर्दा पछाडिबाट नेतृत्व गरिरहेको बताइने गरेको छ । 

उनका भाइ शहबाज सरिफ गत वर्ष प्रधानमन्त्री बनेका थिए भने पिएमएल–एनको औपचारिक नेतृत्व पनि उनले नै गर्दै आएका छन् । 

पाकिस्तानमा आगामी अक्टोबरभन्दा पहिले नै आम निर्वाचन हुन लागेको छ । 

पाकिस्तानका कार्यवाहक राष्ट्रपतिले राष्ट्रियसभाबाट पारित नयाँ कानुनमा हस्ताक्षर गर्दै अदालतले सांसदलाई पाँच वर्षभन्दा नबढाई अयोग्य ठहर्याउन सक्ने व्यवस्था गरेको उल्लेख मङ्गलबार सरकारका एक प्रवक्ताले गरे ।  

राष्ट्रपति आरिफ अल्वीको अनुपस्थितिमा सिनेटका अध्यक्ष सादिक सञ्जरानीले सोमबार उक्त विधेयकमा हस्ताक्षर गर्न कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरेको उनले बताए । 

राजनीतिक विश्लेषक हसन अस्करीले एएफपीसँग भने, ‘सत्तारुढ पीएमएल–एन र यसको गठबन्धन साझेदारहरू नवाज शरिफलाई फिर्ता ल्याउन चाहन्छन् । यो उद्देश्य प्राप्तिका लागि विधेयक पारित गरिएको हो ।’

उनले थपे, ‘नवाज शरिफ आगामी निर्वाचनमा पीएमएल–एनका लागि मुख्य प्रचारक हुनुहुनेछ । उहाँको पुनरागमनले राजनीतिक रूपमा पार्टीलाई निकै फाइदा पुग्नेछ, तर उहाँ आफैं चुनाव लड्ने कि नलड्ने भन्ने स्पष्ट छैन ।’

शरिफले अझै पनि भ्रष्टाचारको मुद्दाको सामना गरिरहेका छन् । शरिफ पछिका इमरान खानको कार्यकालमा उनलाई सजाय सुनाइएको थियो । यो निर्णय देशलाई ऐतिहासिक रूपमा पिरोलिरहेको भ्रष्टाचारलाई सुधार्ने वाचासहित गरिएको थियो ।

तर पाकिस्तानमा विपक्षी नेताहरूलाई पेचिलो बनाउने कानुनी मुद्दाहरू आफ्नो पार्टीले पुनः सत्तामा आएपछि नियमित रूपमा फिर्ता लिने गरेका छन् ।

शहबाजले गत अप्रिलमा अविश्वासको प्रस्तावमार्फत खानलाई सत्ताच्युत गरेका थिए । यद्यपि, उनी दलहरूको अस्थिर गठबन्धनको प्रमुखमा छन् । खान मतदानको ‘काउन्टडाउन’मा निकै लोकप्रिय छन् ।

खानले मध्यावधि चुनावको माग गर्दै आएका छन्, तर उनको अभियान दर्जनौं कानुनी मामिलामा अल्झिएको छ ।

गत महिना इस्लामाबादमा भ्रष्टाचारको आरोपमा उनलाई केही समयका लागि पक्राउ गरिएको थियो, जसका कारण उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) पार्टीका समर्थकहरू सडकमा ओर्लिएका थिए र प्रहरीसँग झडप गरेका थिए ।

तीन दिन हिरासतमा बसी रिहा भएपछि पिटिआईलाई हजारौं नेता कार्यकर्ता पक्राउ, धम्की र प्रेसको दमनको रिपोर्टसहित कारबाहीको निशाना बनाइएको छ ।

खानले आफ्नो पार्टीलाई पिएमएल–एन नेतृत्वको सरकार र शक्तिशाली सैन्य प्रतिष्ठानले दमन गरिरहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार