काठमाडौँको कुन ठाउँमा कतिमा पाइन्छ ब्राण्डेड ‘लहानको आँप’ ?

आइतबार, असार ३, २०८०

काठमाडौँ– काठमाडौँका जुनसुकै गल्लीमा अचेलन बाक्लै सुनिन्छ– माल्दा आँप, माल्दा आँप ।

र, माल्दा आँप भन्ने वित्तिकै लहानको माल्दा आँप भन्ने धारणा बनाइसकेको छ काठमाडौँले ।

लहानको माल्दा आँप भनिए पनि काठमाडौँमा लहानकै माल्दा आँप पाइन्छ त ? कसरी चिन्ने लहानको माल्दा आँप ?

लहान नगरपालिकाले काठमाडौँबासीका लागि लहानकै माल्दा आँप खान पाउने व्यवस्था मिलाएको छ । सो क्षेत्रका किसानले आँपको उचित मूल्य नपाउने र काठमाडौँ जस्ता शहरी क्षेत्रका उपभोक्ताले लहानको माल्दा आँपको नाममा अन्य आँप उपभोग गर्नुपर्ने वाध्यता हटाउन नगरपालिकाले नै विशेष व्यवस्था गरेको हो ।

‘लहानका किसानसँग माल्दा आँप खरिद गर्ने र काठमाडौँ जस्ता शहरी क्षेत्रका उपभोक्तालाई उचित मूल्यमा लहानकै माल्दा आँप खुवाउने पहल थालेका छौं । यसका लागि नगरपालिका र एक स्थानीय कृषि फार्मको सहकार्य भएको छ,’ लहान नगरपालिकाका सुचना अधिकारी सुशीलकुमार साहले क्यानडा नेपालसँग भने ।

लहान २४ मा रहेको सरस्वती कृषि फर्मले स्थानीय किसानसँग आँप किनेर संकलन गर्ने, ग्रेडिङ गर्ने र प्याकेजिङ गर्ने कार्य गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख प्रकाश साहले जानकारी दिए ।

‘सरस्वती कृषि फर्मले किसानकोमा गएर आँप खरिद गरेर ल्याउँछ । त्यस्ता आँपको ग्रेडिङ गरेर प्याकेजिङ गरी काठमाडौँ पठाउने गरिन्छ । यसको लागि लागेको खर्चमा ५० प्रतिशत लागत नगरपालिकाले व्यहोर्छ भने बाँकी ५० प्रतिशत खर्च सरस्वती कृषि फार्मको हुन्छ,’ कृषि शाखा प्रमुख साहले भने ।

स्थानीय उत्पादनको ब्राण्डिङ गरी उपभोक्तालाई सुलभ मुल्यमा उपलब्ध गराउन नगरपालिकाले यस्तो काम गरेको हो । सरस्वती कृषि फार्मले भने प्याकेजिङ भएको आँप काठमाडौँमा ल्याएर विक्री गर्न थालेको छ ।

‘अहिले हामीले काठमाडौँको शान्तिनगरमा रहेको बानेर क्याम्पस नजिकै तरकारी बजारमा लाहानको आँप विक्री गरिहेका छौं । एक पटक आँप किनेर लगेका उपभोक्ता फेरि फेरि पनि आउने गरेकोले काठमाडौँका अन्य ठाउँमा पनि सटर राखेर विक्री गर्ने गृहकार्य गरिरहेका छौं । सटर खोजिरहेका छौं,’ सरस्वती कृषि फर्मका भोला चौधरीले भने ।

अर्थात लहानको माल्दा आँप अहिले काठमाडौँको शान्तिनगरमा रहेको बानेश्वर क्याम्पस नजिकै तरकारी बजारमा पाइने उनले बताए ।

सो कृषि फर्मले गाउँ गाउँमा गएर किसानका बगैचाबाट आँप खरिद गरेर ल्याउने गरेको छ । अहिले किसानसँग आँप खरिद गर्दा प्रतिकेजी ४० देखि ४५ रुपैयाँ लाग्ने गरेको चौधरीले बताए । काठमाडौँमा भने सोही आँप प्रतिकेजी ६५ रुपैयाँदेखि ८० रुपैयाँसम्म विक्री गर्ने गरिएको छ ।

विषाधीरहित 

व्यवसायी तथा नगरपालिकाका कर्मचारीहरुले लहानको आँपमा विषाधी प्रयोग नगरी ब्राण्डिङ गर्ने पहल गरिएको बताएका छन् ।

काठमाडौंमा लहानको आँप जति नामी छ, त्यतिकै बदनाम पनि भएकोले यसको ब्राण्डिङ गर्न लागिएको हो ।

लहानको आँप भनेर अर्कै ठाउँको बेच्ने, एउटा आँप भनेर अर्कै बेच्ने, विषादी प्रयोग गरिएको आँप बेचेर लहानको आँपलाई बदनाम गराउने जस्ता हर्कत भएकोले लहानको अग्र्यानिक आँपलाई प्रबद्र्धन गर्न कार्यक्रम संचालन गरिएको नगरपालिकाको भनाइ छ ।

गत बिहीबारदेखि लहानको आँप काठमाडौँ पठाउन सुरु गरिएको नगरपालिकाले जानकारी दिएको छ । यो वर्ष ९० हजार केजी आँप पठाउने लक्ष्य रहेको छ ।

आँप बिक्रीको लागि लहान र काठमाडौंमा ‘लहानको आँप’को स्टल स्थापना गरेको छ । स्टलमा पाँच र दश किलोको आँप प्याकिङ गरी राखिने जनाएको व्यवसायी चौधरीले बताए । बम्मई, मालदह (माल्दा), दसहरी, आर्मपाली र कलकतिया आँपलाई अलग अलग प्याकेजिङ्ग गरी बिक्रीका लागि राखिएको छ ।

व्यापारीहरुले विभिन्न विषादीको प्रयोग गरी पकाउने आँप स्वास्थ्यको लागि हानिकारक देखिएको चिकित्सकहरूको सुझाव समेत आएकाले विषादी प्रयोग गरेको आँप बिक्री वितरण गर्न नपाउने गरी नीति अपनाउन सुरु गरिएको कृषि शाखा प्रमुख साहले बताए । लहानको आँपको विश्वसनीयतामा वृद्धि गर्ने उद्देश्ले यो कार्यक्रम सुरु गरिएको हो । 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दाङमा झपक्कै फुल्यो आँप 
आइतबार, असार ३, २०८०