शीर्ष चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच टेलिफोन वार्ता

बिहीबार, जेठ ३२, २०८०

बेइजिङ– विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन् । 

यो हालैको कूटनीतिक गतिविधिमा भएको उच्चस्तरीय वार्ता हो । विशेषगरी ताइवानलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व हुने गरेको छ । बेइजिङले आवश्यक परे ताइवानलाई बल प्रयोग गरेर कब्जा गर्नसक्ने चेतावनी दिँदै आएको छ । 

यसअघि अमेरिकी विदेशमन्त्रीको फेब्रुवरीमा हुने भनिएको नियोजित भ्रमण अचानक रद्द भएपछि आपसी मनोमालिन्यलाई शान्त पार्ने उद्देश्यले दुई देशका शीर्ष कूटनीतिज्ञले वार्ता गरेका हुन् । आगामी आइतबार अमेरिकी विदेशमन्त्री बेइजिङ पुग्दैछन् । 

यो वर्षको प्रारम्भदेखि नै चीन र अमेरिकाबीचको सम्बन्ध नयाँ कठिनाइ र चुनौतीबाट गुज्रिरहेको चिनियाँ विदेशमन्त्रीले वार्तामा बताएका थिए । चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङले अगाडि सारेको पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षलाई मान्य हुने सहयोगको सिद्धान्त अनुसार चीन–अमेरिका सम्बन्धलाई सुदृढ बनाउने चिनियाँ चाहना विदेशमन्त्रीले दोहोर्याएका थिए । 

अमेरिकी विदेश मन्त्रालयले पनि विदेशमन्त्री ब्लिन्केनले विश्व मामिलाका साथै आपसी सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने, द्वन्द्वबाट बच्ने तथा चीनसँगको संवाद र सञ्चारलाई खुला राख्ने विषयमा आफ्ना चिनियाँ समकक्षीसँग विचारविमर्श गरेको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार