पाँच वर्षपछि रङ्गमञ्चमा भोलाराज

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– आगामी असारमा थापागाउँस्थित मण्डला नाटकघरमा दुई नाटक मञ्चन हुने भएका छन् । असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन गर्ने तयारी नाटकघरले गरिरहेको छ । 

पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा पाँच वर्षपछि सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘हिउँभन्दा चिसो’ मार्फत रङ्गमञ्चमा प्रस्तुत हुँदै छन् । 

21686583893.jpg

“चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत हुँदैछु । आज र भोलि भन्दै पाँच वर्ष बितिसकेछ । समय मिलाएर नै यसपटक अभिनय गर्दैछु”, अभिनेता सापकोटाले भने । थिएटरबाट नै अभिनयको सुरुआत गरेर भारतीय चलचित्र ‘बर्फी’ मा अभिनय गरिसकेका अभिनेता सापकोटाले रङ्गमञ्च आफ्नो लागि अभिनयको ऐना रहेको बताए । 

“यहाँ काम गर्दा आफूलाई चिन्न र बुझ्न पाइन्छ । व्यावसायिक दबाबभन्दा पर रहेर काम गर्दाको आनन्द छुट्टै छ”, उनले भने । 

bhola_sapkota1686583941.jpg

निर्देशक खनालले तीन पात्रको भेट भएपछिको कथा नाटकमा प्रस्तुत गरिएको जानकारी दिए । “तीन पात्र मात्र नाटकमा छन् । उनीहरूकै यात्रा र त्यहाँ निम्तिने घटना क्रममा यो आधारित छ”, उनले भने । असार ८ देखि साउन १४ गतेसम्म मञ्चन हुने नाटकमा अभिनेता सापकोटासँगै रेणु योगी र गोविन्द सुनारले अभिनय गर्नेछन् ।

यही मण्डला नाटकघरकै अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’ को ११औँ ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको ‘कोराघाट’ लेखक कुमार नगरकोटीले लेखेको कथा ‘कोराघाटका क्रियापुत्रीहरू’ मा आधारित छ । कमलमणि नेपालले निर्देशन गर्ने यो नाटक असार २१ गतेसम्म मञ्चन हुनेछ । – रासस

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्