विनियोजन विधेयकप्रति सांसदको टिप्पणी– बजेट प्रधानमन्त्री र मन्त्रीका जिल्लामा केन्द्रित भयो

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत विनियोजन विधेयक–२०८० माथिको छलफलमा सांसदहरुले टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा (एमाले)का गोकर्ण विष्टले आर्थिक हिसाबले पछि परेका जोखिमा रहेकालाई ठोस व्यवस्था नभएको बताए ।

उनले भने, “उपचार नपाएर जीवन गुमाउने र शिक्षामा पहुँच पुर्याउने विषयमा बजेटमा ध्यान पुर्याएको छैन । बजेट प्रधानमन्त्री र मन्त्रीका जिल्लामा केन्द्रित छ,  एमालेको बजेटप्रति गम्भीर असहमति छ ।”

रास्वपाका सन्तोष परियारले राजनीतिक व्यवस्था बलियो बनाउने र अन्तर प्रदेशबीच समन्वय कायम गर्ने मामिलामा कम्जोर रहेको धारणा राखे । उनले भने, “बजेटप्रति पार्टीको असहमति छ, सुधारको खाँचो छ ।” नेमकिपाका प्रेम सुवालले बजेट बनाउँदा विश्वविद्यालयको राय परामर्श लिएको भए बजेट न्यायपूर्ण हुन्थ्यो भने ।

नेकपा (एस)का अम्बरबहादुर थापाले बजेट ठोस र परिणाममुखी नभई टालटुले हिसाबले तर्जुमा गरिएकाले समस्या सम्बोधन गर्न नसक्ने धारणा राखे  जसपाका  रञ्जुकुमारी झाले धेरै पक्ष राम्रो रहे तापनि गरिबी रेखामुनिका जनतालाई माथि उठाउने, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासमा बजेट देखिएन भनिन् ।

नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले बजेटमा नवीनता र निरन्तरता भए पनि कार्यान्वयनको पक्षमा विशेष ध्यान पुर्याउन सुझाव दिए ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्