विष्णु पौडेलको प्रश्न– पुँजी बजारको यस्तो नकारात्मक परिदृश्यको जिम्मेवारी कसले लिन्छ ?

आइतबार, जेठ २८, २०८०

काठमाडौँ– पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले पुँजी बजारको नकारात्मक परिदृश्यको जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद पौडेलले अर्थतन्त्रको ऐना मानिने पुँजी बजार अहिले नकारात्मक अवस्थामा पुगेपनि यसको जिम्मेवारी लिने व्यक्ति नभेटिएको बताए ।

‘अर्थतन्त्रको ऐना मानिने पुँजी बजारको अवस्थाले पनि हाम्रो अर्थतन्त्र कस्तो अवस्थामा छ भन्ने बताएको छ । विसं २०७७ भदौमा नेप्से परिसूचक ३२०० पुगेको थियो । दैनिक रु २० अर्बसम्म कारोबार हुन्थ्यो र बजारको पुँजीकरण कूल गार्हस्थ उत्पादको हाराहारी अर्थात रु ४५ खर्ब पुगेको थियो । तर अहिले नेप्से परिसूचक १९५० को वरीपरी झरेको छ । दैनिक कारोबार रु २ अर्बको हाराहारीमा झरेको छ र बजार पुँजीकरण २८ खर्बको हाराहारीमा खुम्चिएको छ । तर, पुँजी बजारको यस्तो नकारात्मक परिदृश्यको जिम्मेवारी लिने कोही छैन,’ उनले भने ।

फरक प्रसंगमा उनले बजेट वक्तव्यमा चालु खर्च घटाउने भनिए पनि चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालु खर्च ९७ अर्बले बढी भएको बताए। पौडेलले विगत ६ वर्षमा कूल बजेटको औसत २० प्रतिशतको हाराहरीमा रहेको पुँजीगत खर्चतर्फको विनियोजन यसपाली १७ प्रतिशतमा झारिएको टिप्पणी पनि गरे ।

‘बजेटमा एकातिर वित्तीय सङ्घीयताको कार्यान्वयनमा जोड दिने भनिएको छ, अर्कोतिर प्रदेश र स्थानीय तहका लागि गरिने वित्तीय हस्तान्तरण चालु आर्थिक वर्षको तुलनामा २९ अर्ब ७५ करोड न्यून विनियोजन गरिएको छ । यसरी यो बजेटको स्रोत व्यवस्थापन र चालु तथा पुँजीगत खर्चका निमित्त गरिएको विनियोजन  अवास्तविक, अविश्वसनीय, अन्तरविरोधी र कार्यान्वयन हुन नसक्ने प्रकृतिका छन्,’ पूर्वअर्थमन्त्री समेत रहेका सांसद पौडेलले भने ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्