मेरा माननीयमाथि राँगो चढ्यो 

बुधबार, जेठ २४, २०८०

काठमाडौँ– गत शनिबार बनेपाको विद्यासागर स्कुलमा अभिभावकको लागि एउटा कार्यक्रम राखिएको थियो । सो कार्यक्रममा बाल मनोविज्ञानविज्ञ इन्द्रकुमार प्रसाईंले अभिभावक लक्षित एक प्रस्तुति दिएका थिए ।

उनको प्रस्तुति सामाजिक संस्कार सिद्धान्तका प्रतित्पादक लेभ सिम्यानोभिच भाइगस्कीले प्रतित्पादन गरेको भाषा र संस्कारको सम्बन्धको सिद्धान्तमा आधारित थियो । 

भाइगस्कीको सिद्धान्तले भन्छ– भाषा अनुसारको विचार हुन्छ । विचारले व्यवहार तय गर्छ । व्यवहार अनुसारको परिचय हुन्छ । परिचय जस्तो छ, त्यस्तै समाज बन्छ । र, समाज अनुसारको संस्कार हुन्छ ।

बाल मनोविज्ञानविज्ञ प्रसाईंले यो सिद्धान्तले कसरी काम गर्छ भनेर अभिभावकबीच व्यवहारिक रुपमा नै प्रमाणित गर्ने प्रयास गरेका थिए ।

गत सोमबार (जेठ २२ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम थियो । उनले हालै गरेको भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने उदेश्यले सम्बोधन गर्दै थिए ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा चर्चित ‘मुर्रा भैँसी’ प्रकरणबारे ठट्यौलो पारामा स्पष्टीकरण दिए ।

‘...रह्यो भैँसीको कुरा । यो अहिलेको विषय होइन । ७ वर्षअघि नै मुर्रा भैँसी ल्याउने समझदारी भएको रहेछ । आएको मात्रै अहिले । ७ वर्ष अगाडिको रहेछ मुर्रा भैँसी । अब मान्छेले चै मलाई भैँसी चढाएर हिँडाएका छन् (यसो भन्दै गर्दा प्रधानमन्त्री प्रचण्ड पनि हल्का हाँस्दै गरेको देखिन्थे) । राँगा, राँगा नै हो । मुर्रा हो मुर्रा...’ उनले भनेका थिए ।

प्रधानमन्त्री प्रचण्डले यस्तो बताउँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल अर्का उपाध्यक्ष सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग मुखामुख गर्दै खित्का छोडेर हाँस्दै गरेको दृष्य टेलिभिजन लाइभमै देखिएको थियो ।

भनाइ सकिएपछि सभामुख देवराज घिमिरेले सांसदहरुलाई प्रधानमन्त्रीसँग प्रश्न सोध्न समय दिए । प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्ड भैँसी चढेर भारतबाट आएको बताए ।

‘...प्रधानमन्त्री जहाज चढेर आफैँले उद्घाटन गरेको पोखरा विमानस्थलमा आउनुपर्ने थियो । तर, उहाँ त भैँसी चढेर आउनुभयो...,’ पूर्वशिक्षामन्त्रीसमेत रहेका सांसद खनालले भनेका थिए ।

सांसद खनालले यस्तो बताउँदै गर्दा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । प्रधानमन्त्रीलाई भैँसी चढेर आएको भनेर सांसद खनालले भनेको कुरा संसदीय मर्यादाविपरीत भएको जिकिर पाण्डेको थियो ।

सांसद पाण्डेले यसरी नियमापत्ति जनाउँदै गर्दा रास्वपा र एमालेका सांसदहरूले संसदमा हंगामा गरे । विपक्षी दलका सांसदहरूको भनाइ थियो– शिशिर खनालले बोल्दै गर्दा हितराज पाण्डेले नियमापत्ति गरेर दादागिरी देखाए । र, भैँसी चढेर आएको भन्ने वाक्यांश प्रधानमन्त्री आफैँले प्रयोग गरेको शब्द हो, हटाउने भए प्रधानमन्त्रीले प्रयोग गरेको शब्द पनि हटाउनु पर्छ ।

त्यसपछि पनि रास्वपाका सभापति रवि लामिछाने, एमाले सांसदहरू सूर्य थापा, रघुजी पन्तलगायतले संसदमा होहल्ला गरिरहे । एमाले उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङलगायत भने हाँसेर रमाइलो गरिरहेका देखिन्थे । सत्ता पक्ष नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरु पनि विपक्षी दलका सांसदहरुसँग संसदमै पौठेजोरी खेलिरहेका थिए ।

सभा चलाउन सभामुख देवराज घिमिरेले सांसदहरूसँग आग्रह गरिरहेका थिए । तर, सहज अवस्था सिर्जना भइरहेको थिएन । सांसदहरू आफ्नो ठाउँबाट उठेर होहल्ला गरिरहेका थिए । 

विषय तनावग्रस्त हुन थालेपछि सभामुख घिमिरेले ‘भैँसी चढेर आएको’ शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिए । तर, विपक्षी दलका सांसदहरू सो शब्द हटाउने भए प्रधानमन्त्रीले प्रयोग गरेको शब्द पनि हटाउनु पर्ने माग गरिरहेका थिए ।

‘...माननीय सदस्यहरू ‘भैँसी चढेर आएको’ भन्ने शब्द जसले प्रयोग गर्नुभएको भए पनि यो रेकर्डबाट हटाउन निर्देशन दिन्छु...’, सभामुख घिमिरेले भनेका थिए ।

सभामुख घिमिरेले यस्तो बताए पनि विपक्षी दलका सांसदहरूले विरोध गरिरहेका थिए । उनीहरुको माग प्रधानमन्त्री भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउने भए प्रधानमन्त्रीले प्रयोग गरेको शब्द पनि हटाउनु पर्ने भन्ने थियो ।

केही गलफत्तीपछि संसद् सुचारु भयो । 

सांसदहरुले प्रश्न गरिसकेपछि प्रधानमन्त्री प्रचण्डले प्रश्नको जवाफ दिने कार्यक्रम सुरु भयो । प्रधानमन्त्रीले संसदको रोष्टमबाट जवाफ दिदै गर्दा एमाले सांसदहरु रघुजी पन्त, सूर्य थापालगायतले बीच–बीचमा अवरोध सिर्जना गरिरहे । सभामुख घिमिरेले प्रधानमन्त्रीलाई बीचमै रोकेर एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद विश्वप्रकाश शर्मालाई बोल्न दिएका थिए । सो दिन संसदमा माननीयहरुले गरेको हर्कत टोले गुण्डाहरुको झगडा सम्झाउने तहको जस्तो देखिन्थ्यो ।

संसदको रेकर्डबाट ‘भैसी चढेर आएको’ शब्द हटेपछि फेरि त्यो शब्द प्रयोग भइरहेको थिएन । तर, प्रधानमन्त्री प्रचण्डको सम्बोधन सकिनेबित्तिकै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधनका लागि समय दिइयो । ओलीले करिब २ घण्टा लामो आफ्नो सम्बोधनको केही मिनेट भने भैँसी चढेको भन्नु कसरी अमर्यादित शब्द होइन भन्ने प्रष्ट पार्नको लागि छुट्टयाए ।

ओलीले सानोमा आफू पनि भैँसी चढेको, पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि भैँसी चढेको भन्ने गरेको जस्ता केही दृष्टान्त दिए । तराई–मधेशमा भैँसी चढ्नु चढेको भन्नु सामान्य भएको ओलीको आशय थियो । अर्थात संसदको रेकर्डबाट ‘भैँसी चढेर आएको’ हटेपनि संसदमा ‘भैँसी चढिरहेको’ थियो ।

सो दिन संसदमा भैँसीले आतंक सिर्जना गरिरहे पनि सांसदहरुलाई थाहा भइसकेको थियो– प्रधानमन्त्री प्रचण्डले भारतबाट भैँसी होइन राँगा ल्याएका रहेछन् । पूर्वप्रधानमन्त्री ओलीले त भनेकै थिए – प्रधानमन्त्रीले भारतबाट साच्चिकै ल्याएको भनेको त्यही १५ वटा राँगा हुन् । बाँकी त उहाँले हाताहाती दिनुभयो, संद्धान्तिक लिएर आउनु भयो ।

सो दिन संसदमा भैँसीले चर्चा पाएको देख्दा दिमागमा देवी भागवत् महापुराणको महिषासुर पात्र घुमिरहेको थियो । देवी भागवतमा महिषासुरलाई कालो, ठुलो, चिल्लो, बलियो राँगोको रुपमा व्याख्या गरिएको छ । महिष (भैसी/राँगो) असुर (राक्षस, अनावश्यक रुपमा अरुलाई दुःख दिने प्रबृत्ति) । भारतले नेपाललाई मुर्रा जातको १५ वटा राँगा दिने भएपछि सामाजिक सञ्जालमा सो जातको राँगो भाइरल भइरहेको छ । फोटोमा हेर्दा मुर्रा जातको राँगो पनि कालो, चिल्लो, बलियो, ठुलो हुँदो रहेछ– ठ्याक्कै देवी भागवतको महिषासुर जस्तै ।

जेठ २२ गते प्रतिनिधिसभामा राँगो पस्यो । सांसदको दिमागमा राँगोबाहेक केही घुमेन । हाम्रा सांसदलाई राँगोका विषयमा कसैको खिसिटेउरी वा छेडखानी गर्नुपर्छ भन्ने किन लाग्यो ? मुर्रा जातको राँगो नेपालमा ल्याएर भैँसीमा नश्ल गराउँदा हाम्रा सांसदले विरोध गर्नुपर्ने हो ? यसो गर्दा नेपालको रैथाने जातको राँगो लोप हुन्छ । उसको जाति सकिन्छ । त्यसैले मुर्रा राँगो ल्याउने विषयको विरोध नेपालको रैथाने जातको राँगो वा नेपाली भैँसीले गरेको भए एउटा कुरा, हाम्रा माननीयहरुले किन गरेको ? नेपालमा भैँसीको नश्ल सुधार गरी दूध र मासु उत्पादन बढाउने कुराले हाम्रा माननीयलाई किन आपत्ति भएको हो ? 

प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा प्रश्न उठाउने अरु विषय थिएनन् ? कि प्रधानमन्त्रीले भारतबाट देवी भावगतमा लेखिए जस्तै महिषासुर ल्याउन लागेका थिए ? देवी भागवतमा महिषासुरको हर्कत उल्लेख गर्दै एक ठाउँमा लेखिएको छ– 

‘मुत्यो छुलु छुलु गरीकन भूमि खोस्र्याे ।

घुम्यो र फन्फन झसङ्ग भएर तस्र्याे ।।’ 

प्रचण्डले भारतबाट ल्याउन लागेको मुर्रा राँगोले संसदमा पसेर यसै गर्दैथियो ?

वास्तवमा भन्ने हो भने राँगो हाम्रा माननीयको दिमागमा चढेको हो । माननीयहरुमाथि चढेको हो । जान्नेलाई छान्ने नारा दिएर चुनाव जितेका माननीयको दिमागमा पनि राँगो नै पसेछ । दिमागमा राँगो चढेपछि रामकृष्ण श्रेष्ठहरु अनधिकृत मात्रै लाग्छन् । एक्स्पर्ट हुन कि भनेर सोच्न सकिँदैन । राँगो चढेका माननीयहरुले बेरोजगारीका, वैदेशिक रोजगारका, उद्यम व्यवसाय टाट पल्टेका, सरकारी विद्यालयका शिक्षकले दिनभरि तास खेलेर बसेका, नपढाएका, सरकारी अस्पतालको सेवा खत्तम भएका, ठग, तस्कर, माफिया, बिचौलीहरुले राज गरेर सार्वजनिक सेवा कब्जा गरेका जस्ता समस्याका विषय देख्दा रहेनछन् । दिमागमा राँगो चढेपछि हाम्रा प्रधानमन्त्रीले विदेशमा गएर देशको इज्जत राख्ने काम गरे कि गरेनन्, सार्वभौमसत्ताका विषयमा सम्झौता गर्न पो खोजे कि भन्ने जस्ता विषय पनि देखिदो रहेनछ । 

दिमागमा राँगो पसेपछि संसदको रेकर्डबाट हटाउनु पर्ने शब्द प्रयोग गर्न मन लाग्दो रहेछ । संसदको रेकर्डबाट हटाउनु पर्ने शब्द प्रयोग गर्दा पनि हाम्रा माननीयहरुलाई लाज लाग्दो रहेछ । घरमा उनीहरुलाई कसैले पनि सोध्दा रहेछन्– छि ! तपाईंले कस्तो अमर्यादित शब्द प्रयोग गर्नुभएको, संसद् बैठक लाइभ थियो, तपाईंको हर्कत टिभीमा देखिरहेको थियो, हामीलाई पो लाज लाग्यो, अबदेखि यस्तो नगर्नु है भनेर ।

जेठ २२ को प्रतिनिधिसभामा गरिएको हर्कतले हाम्रा माननीयहरुको औकात देखायो । रसियन नागरिक लेभ भाइगस्कीको सिद्धान्तलाई जोडेर जेठ २२ गतेको प्रतिनिधिसभा हेर्दा देखिन्छ– भैँसी चढ्ने माननीयको भाषा । भैँसी चढ्ने माननीयको विचार । भैँसी चढ्ने माननीयको व्यवहार । भैँसी चढ्ने माननीयको परिचय । भैँसी चढ्ने माननीयको समाज । भैँसी चढ्ने माननीयको संस्कार ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्