इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै काजकिस्तान 

बिहीबार, जेठ १८, २०८०

तेलअविव– काजकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ । मध्य एसियाली देशका साथै विश्वका विभिन्न मुलुकका परम्परागत धर्मका नेताले सम्मेलनमा भाग लिनेछन् । 

काजकिस्तानमा विगत दुई दशकदेखि प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको  अन्तरधार्मिक मञ्चको सम्मेलन यसपटक इजरायलमा आयोजना गर्ने निर्णय भएको हो । सम्मेलनमा इजरायलका प्रमुख रब्बीहरू, इजरायलका मुसलमान, ड्रुज र बहाई समुदायका प्रतिनिधि, प्रमुख राजनीतिक र शैक्षिक अधिकारीसहित धेरै धार्मिक नेताले भाग लिने अपेक्षा गरिएको छ ।

इजरायल र साइप्रसका लागि काजकिस्तानका राजदूत सतिबाल्डी बुर्साकोभका अनुसार काजकस्तानको सिनेटका अध्यक्ष मौलेन असिमबाएभले सम्मेलनको प्रमुख वक्ताका रूपमा भागलिने तथा त्यसले विश्व शान्ति तथा वर्तमान चुनौतीको सामना गर्न एकताबद्ध हुन आह्वान गर्नेछ । 

विश्वभरका धार्मिक नेताहरूको सामुहिक प्रयासबाट विभिन्न राष्ट्र र समुदायबीचको मनोमालिन्य अन्त्य गर्न तथा आपसी विश्वास, सहकार्य र साझेदारीलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास  गरिएको छ । 

सन् १९९२ मा सोभियत सङ्घको पतनपछि स्वतन्त्र भएको मध्य एसियाली देश  काजकिस्तानले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको हो । सन् २०१६ मा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले काजकिस्तानको भ्रमण गरेका थिए । पूर्वसोभियत गणतन्त्रमा इजरायली प्रधानमन्त्रीको त्यो पहिलो भ्रमण थियो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०६:२७
प्रतिक्रिया दिनुहोस्