नयाँ कर नीतिले सेयर बजारमा चरम निरासा : परिसुचक ५३ अंकले घट्यो

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा गरेको कर सम्बन्धी नयाँ व्यवस्थाले सेयर बजारमा चरम निरासा बढाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो (जेठ १५ गते) संसदमा सार्वजनिक गरेको बजेटमा एफपिओ जारी गर्दा आएको रकमबाट बोनस सेयर प्रदान गरिएको छ भने त्यसमा कर तिर्न भनिएको छ । यस्तो कर आगामी मंसिर मसान्तसम्म तिरे जरिवाना नलाग्ने र त्यसपछि भने जरिवाना पनि लाग्ने भनिएको छ । यसअघि सरकारले यस्तो कर लाग्ने कुनै गरेको थिएन ।

यस्तै, सरकारले मर्जर तथा एक्विजिसनमा लाभ भए त्यस्तो लाभमा पनि कर तिर्न भनेको छ । यस्तो कर पनि आगामी मंसिर मसान्तसम्ममा तिरे थप शुल्क र जरिवाना नलाग्ने सरकारले भनेको छ । यस्तो कर पनि यसअघि तिर्नुपर्ने भनिएको थिएन ।

सरकारको यही कर नीतिको कारण बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिनमा सेयर बजारमा चरम निरासा देखिएको हो । आज सेयर बजार मापक नेप्से परिसुचक ५३.१६ अंकले घटेर १८८८.८१ विन्दुमा आइपुगेको छ । आज परिसुचक २.७४ प्रतिशतले घटेको हो ।

परिसुचक घटेपनि कारोबार रकम भने बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार आज ७० लाख ७४ हजार कित्ता सेयर २ अर्ब ३४ करोड १७ लाख रुपैयाँमा खरिद विक्री भए । आज ९ कम्पनीको सेयरको मूल्य बढ्यो भने २०७ कम्पनीको सेयर मूल्य घटेको छ ।

घटेको बजारमा पनि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले र विविडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

स्वेतगंगा जलविद्युतको सेयर मूल्य ९.२६ प्रतिशतले घटेको छ । यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रो, आदर्श लघुवित्त जस्ता संस्थाहरुको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज बीमा कम्पनी र लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बढी घटेको छ । नेप्सेका अनुसार बैंकिङ समुहको सुचक २.४२ प्रतिशतले, विकास बैंक समुहको सुचक २.२८ प्रतिशतले, फाइनान्स कम्पनी समुहको सुचक २.७९ प्रतिशतले र होटल एण्ड टुरिजम समुहको सुचक २.५१ प्रतिशतले घटेका छन् ।

यस्तै, जलविद्युत समुहको सुचक २.७३ प्रतिशतले, इन्भेष्टमेन्ट समुहको सुचक २.७३ प्रतिशतले, जीवन बीमा समुहको सुचक ३.५ प्रतिशतले, उत्पादनशील समुहको सुचक १.५६ प्रतिशतले र लघुवित्त समुहको सुचक ३.४२ प्रतिशतले घटेका छन् । यस्तै, म्युचुअल फण्ड समुहको सुचक १.४२ प्रतिशतले, निर्जीवन बीमा समुहको सुचक ३.१४ प्रतिशतले, अन्य समुहको सुचक ३.२८ प्रतिशतले र ट्रेडिङ समुहको सुचक २.९५ प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्