टर्कीका राष्ट्रपति एर्दोगानलाई बधाई दिँदै बाइडेनले भने– नेटो सहयोगीको रूपमा सँगै काम  गर्न चाहन्छु

मंगलबार, जेठ १६, २०८०

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका छन् । बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् । 

बाइडेनले ट्विटमा लेखेका छन्, ‘टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई उनी पुनः निर्वाचित भएकोमा बधाई । म द्विपक्षीय मुद्दाहरू र साझा विश्वव्यापी चुनौतीहरूमा  नेटो सहयोगीहरूको रूपमा सँगै काम  गर्न चाहान्छु ।’ 

आइतबार टर्कीको राष्ट्रपति चुनावमा एर्दोगान विजयी घोषणा भएपछि बाइडेनको  उक्त टिप्पणी आएको हो।  त्यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् ।

ब्लिन्केनले ट्विट गर्दे लेखेका छन्, ‘राष्ट्रपति एर्दोगानलाई पुनस् निर्वाचित भएकामा  यसले त्यहाँको लामो लोकतान्त्रिक परम्परालाई झल्काउँछ। टर्की एक मूल्यवान नेटो सहयोगी र साझेदार हो। म सरकारसँग हाम्रो निरन्तर सहकार्यका लागि तत्पर छु।’

राष्ट्रपति एर्दोगानले टर्कीको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै आफ्नो शासनलाई तेस्रो दशकसम्म लम्ब्याएको सिएनएनले जनाएको छ । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् ।

एर्दोगानले २७,५१३,५८७ भोट वा खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गरेको सिएनएनले देशको सर्वोच्च निर्वाचन परिषद्ले जारी गरेको तथ्याङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ। 

यसैबीच विपक्षी नेता केमाल किलिचदारोग्लुले २५,२६०,१०९ मत वा ४७.८६ प्रतिशत प्राप्त गरेका छन् ।

टर्कीका राष्ट्रपति एर्दोगान पुनः निर्वाचित भएपछि समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्न राष्ट्रपति भवन पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्