Nic Ad Nic Ad
Nic Ad Nic Ad

ढोरपाटनका मेयर नेपालीले सहकारीमार्फत १ अर्ब ५४ करोड हिनामिना गरेको पुष्टी

अनुसन्धान गर्न सिआइबीलाई पत्राचार
आइतबार, जेठ १४, २०८०

बागलुङ– इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले समस्या समाधानका लागि सहजीकरण गरिदिन जिल्ला सहकारी संघ बागलुङसँग माग गरेका छन् । 

बचतकर्ताहरुका तर्फबाट गठित संघर्ष समिति र जिल्ला सहकारी संघका पदाधिकारी सदस्यहरुबीच शनिवार भएको छलफल कार्यक्रममा संघका तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्नका लागि माग गरिएको हो । 

रकम फिर्ताका लागि वचतकर्ताहरुले ६ महिनाको समय थप गर्न सहमति जनाउदै समस्या समाधान गर्न सहजता प्रदान गर्दा पनि संस्थापक अध्यक्ष देवकुमार नेपाली लगायत सम्पर्क विहिन भएका कारण थप समस्या भएको संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए । 

संस्थापक अध्यक्ष नेपाली बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर पनि हुन् । हाल मेयर नेपाली बचतकर्ताको रकम फिर्ता नगरी बेपत्ता भएको बचतकर्ताको आरोप छ । नेपाली २०७४ साल र २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनी विजयी भएका थिए । मेयर नेपालीले संचालन गरेको सहकारीले बचत फिर्ता नगरे आफूहरुको विचल्ली पारिदिएको बचतकर्ताको भनाइ छ ।

उनले देवकुमार नेपालीलगायत संस्थासँग सम्बन्धित व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन संघर्ष समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भन्दै जिल्ला सहकारी संघका तर्फबाट सल्लाह सुझाव सहित समन्वयकारी भूमिका निभाईदिन आग्रह गरेका थिए ।

‘इमेज सहकारीले सूचना प्रकाशित गरेर कार्यालय बन्द गरेदेखि नै जिल्ला सहकारी संघको अगुवाईमा संस्थालाई सहज रुपमा सञ्चालन गर्न र बचतकर्ताहरुको रकम फिर्ताका लागि समन्वय गरेका थियौँ । हामीले गरेको समन्वयकारी भूमिका र आम वचतकर्ताको भावना विपरित देवकुमार नेपाली र उहाँको टिम सम्पर्कविहिन भएका कारण थप समस्या परेको छ । यो समस्यालाई समाधान गर्नका लागि संघको तर्फबाट समन्वय गरेर अगाडि बढ्छौं,’ जिल्ला सहकारी संघका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले भनिन् ।

इमेज सहकारीको साथै शिवशिखर सहकारीका बचतकर्ताको बचत रकम फिर्ताका लागि निरन्तर खबरदारी र समन्वय भैरहेको छ उनको भनाइ छ ।

छलफलका क्रममा बचतकर्ताहरुले सरकारले समस्यामा परेका बचतकर्ताको रकम फिर्ता गर्ने कुरामा गम्भिरताका साथ लिनु पर्ने, सम्पर्कविहिन भएका देवकुमार नेपालीलगायतलाई खोजी गरी कारवाही गर्नुका साथै इमेज सहकारी संस्थासँग सम्बन्धितहरुबाट बचतकर्ताहरुको रकम फिर्ता गर्नु पर्ने बताएका थिए ।

इमेज सहकारीले बागलुङ बजारमा सञ्चालित कार्यालयबाट १ अर्ब २४ करोड, गलकोट सेवा केन्द्रबाट १८ करोड र बुर्तिबाङ सेवा केन्द्रबाट १२ करोड बचत संकलन गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराका अधिकृत चोलाकान्त वाग्लेले जानकारी दिए ।

सो सहकारीले बचतकर्ताको १ अर्ब ५४ करोड रुपैयाँ बचत फिर्ता नगरी संस्थापक अध्यक्ष नेपाली सहितका पदाधिकारी बेपत्ता भएका बचतकर्ताको भनाइ छ ।

बैशाख ७ गते सूचना प्रकाशित गरेर इमेज सहकारीको कार्यालय बन्द गरेपछि जिल्ला सहकारी संघको समन्वयमा बैशाख १२ गतेदेखि कार्यालय सुचारु गरिएको थियो । कार्यालय शुरु भएपछि नियमित रुपमा जिल्ला सहकारी संघ र वचतकर्ताहरुसँग समन्वय गर्दै बचत फिर्ता गर्छु भनेका देवकुमार नेपालीले जेठ १ गते बचतकर्ताहरुको भेला समेत गरेका गिए ।

भेलामा बचतकर्ताहरुले ६ महिना बचत फिर्ताका लागि समय थप गर्ने सहमति दिएका थिए । बचतकर्ताले दिएको समयसिमाभित्र बचतफिर्ताका लागि आवश्यक पहल गर्नु पर्नेमा सम्पर्क विहिन भएपछि बचतकर्ताहरु थप अन्यौलमा परेका छन् । 

देवकुमार नेपाली सहितको इमेजका जिम्मेवार मान्छेहरु सम्पर्कविहिन भएपछि वचतकर्ताहरुले संघर्ष समिति गठन गरी बचतफिर्ताका लागि अगाडि बढेका छन् ।

बचतकर्ताहरुको निवेदनपछि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका तर्फबाट संस्थाको वित्तीय अवस्थाको बारेमा अनुमगन गरी इमेजको कार्यालय शिल गर्नुका साथै कानुनी कारबाहीका लागि केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) मा सिफारिस गरेको प्रदेश रजिष्ट्रार कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्