आतङ्कवादीसँगकाे झडपमा ६ पाकिस्तानी सुरक्षाकर्मी मारिए

बुधबार, जेठ १०, २०८०

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका छन् । 

प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको एक समूहले आक्रमण गर्दा ती सुरक्षाकर्मी मारिएका हुन् ।

मंगलबार बिहान दुई दर्जनभन्दा बढी सशस्त्र आतङ्कारीले गरेको आक्रमणको प्रतिकारमा चार जना ‘फ्रन्टियर कन्स्टेबुलरी’का सदस्य तथा दुई जना निजी सुरक्षाकर्मीको मृत्यु भएको प्रहरी अधिकृत आसिफ बहादुरले बताएका छन् ।  

दुई घण्टाभन्दा बढी समय दाहोरो भिडन्तपछि आतङ्कारी भागेका तथा उक्त स्थलको स्थिति अहिले नियन्त्रणमा रहेको जानकारी दिँदै उनले इन्धन उत्खनन केन्द्रलाई पर्याप्त सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समयमै सुरक्षाफौज सहायताका निम्ति आएकाले ठूलो मानवीय क्षति नभएको बताइएको छ ।

पाकिस्तान र हङ्गेरीको संयुक्त लगानीको कम्पनीले इन्धनका निम्ति उत्खनन गरिरहेको छ । उक्त हमलाको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन । 
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०५:५७
प्रतिक्रिया दिनुहोस्