टर्कीमा राष्ट्रपति चुनाव : दोस्रो चरणको तयारी, पहिलो चरणमा राष्ट्रपति एर्दोगानको अग्रता

मंगलबार, जेठ २, २०८०

अङ्कारा– टर्कीमा मे २८ मा हुने राष्ट्रपति पदको दोस्रो चरणको निर्वाचनका लागि तयारी भइरहेको छ । आइतबारको प्रारम्भिक चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेपछि यो निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दैछ ।  

सोमबार अनादोलु एजेन्सीले दिएको अनौपचारिक नतिजाले वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगानले ४९.४२ प्रतिशत मत प्राप्त गरी चुनावी दौडमा अग्रता लिएका छन् भने उनका प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु ४४.९५ प्रतिशत मत पाएका छन् । हालसम्म ९९.३८ प्रतिशत मतगणना भएको छ । अनाडोलुका अनुसार तेस्रो उम्मेदवार सिनान ओगानले ५।२ प्रतिशत मत प्राप्त गरेका छन् ।

सोमबार बिहान आफ्ना समर्थकहरूसँग बोल्दै एर्दोगानले आफ्नो स्पष्ट नेतृत्व हुने विश्वास व्यक्त गरेका छन् ।

‘हामीलाई थाह छ – हामी चुनावमा स्पष्ट रूपमा अगाडि छौँ तर हामी राष्ट्रिय इच्छाको अभिव्यक्तिका लागि पर्खिरहेका छौँ, परिणामको पूर्ण सीमा हाम्रो अगाडि आधिकारिक रूपमा देखिएको छैन,’  ६९ वर्षीय राष्ट्रपतिले भने । यसैगरी उनले गठबन्धनले संसद्मा स्पष्ट बहुमत प्राप्त गरेको र यसले गर्दा दोस्रो चरणको मतदानले पनि उनको उम्मेदवारीलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

तर विपक्षी दलका उम्मेदवार केमाल किलिचदारोग्लुले भने एर्डोगानलको सो विश्वासले मूर्तरूप नलिने बताएका छन् । उनले एर्दोगानको सत्तारुढ दलले मतगणना र परिणाम सार्वजनिक गर्न जानाजानी ढिलाइ गरेको आरोप लगाएका छन् ।

अनादोलु एजेन्सीको संसदीय चुनावको अनौपचारिक नतिजाले एर्दोगनको सत्तारुढ न्याय र विकास पार्टी, नेसनालिस्ट मुभमेन्ट पार्टी, न्यू वेलफेयर पार्टी र ग्रेट युनियन पार्टीले गठन गरेको जन गठबन्धनले तीन सय २२ सांसद निर्वाचित गरेको देखाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०६:१८
प्रतिक्रिया दिनुहोस्