कङ्गोमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुग्यो

सोमबार, वैशाख २५, २०८०

कङ्गो– प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको एक अधिकारीले आइतबार जानकारी दिएका छन् ।

कालेहे क्षेत्रका प्रशासक थोमस बाकेङ्गाका अनुसार गत साताको बाढीपछि कम्तीमा ३९४ जनाको शव निकालिएको छ ।

उनले शनिबार बाढी र पहिरोका कारण कम्तीमा २०३ जनाको मृत्यु भएको घोषणा गरेका थिए । 

दक्षिण किवु प्रान्तको कालेहे क्षेत्रमा बिहीबार भएको भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेपछि बुसुशु र न्यामुकुबी गाउँहरूमा पहिरो गएको थियो । 

‘अहिलेसम्म ३९० भन्दा बढी शवहरू फेला परेको हामीलाई जानकारी प्राप्त भएको छ,’ उनले आइतबार टेलिफोनमा एएफपीसँग भने । 

उनका अनुसार बुसुशुमा १४२, न्यामुकुबीमा १३२ र इदज्वी नजिकैको किवु तालमा १२० शव तैरिरहेको अवस्थामा फेला परेका थिए ।

बिहीबारदेखि लगातार मृतकहरू भेटिएका उनीहरूको सरकारी अधिकारी र सम्भवभएसम्म आफन्तको उपस्थितिमा अन्त्येष्टि गरिएको बाकेङ्गाले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार