प्रधानमन्त्रीले हरेक महिना संसदमा जवाफ दिने

आइतबार, वैशाख २४, २०८०

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिनाको एक पटकसंसदमा जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा महिनाको पहिलो हप्ता एक दिन प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता अनिवार्य गर्न माग गरिएको छ ।

आइतबार अपरान्ह ४ बजेबाट संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । बैठकलाई कसरी व्यवस्थापन र प्रभावकारी बनाउने भन्नेबारेमा कार्य व्यवस्था परामर्श समितिको बैठक छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले बताए ।

उनले सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जाने बारेमा छलफल भएको बताए । सांसदहरुको हाजिरी अनलाइन हुनुपर्ने व्यवस्थाका बारेमा पनि छलफल भएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्था परामर्श समितिको बैठकमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिने बारेमा पनि छलफल भएको बताए । उनले बैठकमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउने बारेमा छलफल भएको बताए ।

सांसद खतिवडाले सांसदहरु हाजिर गरेर हिँड्ने प्रवृत्ति हाबी भएकाले इलेक्ट्रिक हाजिरीको व्यवस्थाका बारेमा बैठकमा छलफल भएको बताए ।   
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्