लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षबाट पक्राउ
शनिबार, वैशाख २३, २०८०

काठमाडौँ– नेपाल प्रहरीले लिखतसम्बन्धी कसुरमा एक जना पत्रकारलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिखतसम्बन्धी कसुरमा गुल्मी इश्मा गाउँपालिका–४ घर भई काठमाडौँको कोटेश्वर बस्ने ४० वर्षीय पत्रकार मदनबाबु भण्डारीलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पत्रकार भण्डारी सुरक्षा न्यूज डटकमका प्रबन्ध निर्देशक हुन् । भण्डारीविरूद्ध लिखतसम्बन्धी कसुरमा उजुरी परेको थियो । उजुरी परेपछि काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्