अर्को निर्वाचनमा बहुमत ल्याएर नेपाल नै ‘कब्जा गर्ने’ प्रधानमन्त्रीको चेतावनी

शनिबार, वैशाख २३, २०८०

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारमा बसेकाहरू र भुटानी शरणार्थीका रूपमा नेपालीलाई बेच्नेले नै आफू र माओवादीप्रति निरन्तर प्रहार गरेको दाबी गरेका छन् । 

नेपाल दलित मुक्ति मोर्चाको शनिबार काठमाडौंमा छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रत्रानमन्त्री प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुआत मात्र भएको बताए । उनले भ्रष्टाचारीका फाइल खोल्ने कामबाट आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धान ट्रेलर मात्र भएको उनको भनाइ छ ।

उनले ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै घेराबन्दी र दबाबको सामना गर्ने बताए । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि र परिवर्तन उल्टाउने कसरत अझै पनि भइरहेको उनले उल्लेख गरे ।

अहिले माओवादी केन्द्रलाई ‘३२ सिटे’ भनेर व्यंग्य गर्ने गरिएको भन्दै उनले अर्को निर्वाचनमा बहुमत ल्याएर नेपाललाई ‘कब्जा गर्ने’ चेतावनी दिए ।

‘आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रचण्डले भने, ‘खाली एकतावद्ध भएर गर्जिने आवश्यकता मात्र हो ।’

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्