ओलीले टोपबहादुर रायमाझीको विषयमा चासो राख्नु भएको छ : प्रधानमन्त्री

शनिबार, वैशाख २३, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सौहाद्रपूर्ण कुराकानी भएको बताएका छन् । नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे आृलीले चासो राखेको प्रधानमन्त्री प्रचण्डले बताए ।

शनिबार अध्यक्ष ओलीसँग भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भेटमा अध्यक्ष ओलीले अनुसन्धानबारे चासो राखेको जानकारी दिए । ‘ओलीजीले नक्कली भुटानी शरणार्थी अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा भएन । हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ । यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’

्भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताउँदै प्रचण्डले भने, ‘प्रक्रिया, पद्दति र ऐनअनुसार सरकार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट गइन्छ ।’

ओलीले अस्ति र आजको भेटमा पार्टीका नेता टोपबहादुर रायमाझीको विषयमा चासो राखेको प्रचण्डले स्वीकार गर्दै भने, ‘तर, आफ्नो नेता जोगाउन उहाँ (ओलीजी)ले भन्नु भएको छैन ।’

प्रचण्डले भने, ‘अस्ति पनि उहाँको कन्सर्न थियो । तर आफ्नो नेता बचाउ भनेर प्रधानमन्त्रीसँग भन्न सक्ने कुरा भएन । म दबाबमा पर्दिनँ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी हालसम्म फरार रहेका छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्