Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्युजिल्याण्डविरुद्ध शृङ्खलामा जित्दै पाकिस्तान एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा

शनिबार, वैशाख २३, २०८०

काठमाडौं–न्युजिल्याण्डलाई चौथो एकदिवसीय खेलमा १०२ रनको विशाल अन्तरले हराउँदै पाकिस्तान एकदिवसीय क्रिकेटको वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । जीतसँगै पाकिस्तानले पाँच खेलको शृङ्खलामा ४–० को अग्रता बनाएको छ । आईसीसीको वरीयतामा पाकिस्तानको ११३ अङ्क रहेको छ । टोलीले अस्ट्रेलिया र भारतलाई झिनो अन्तरले उछिन्न सफल भएको हो ।

उता, खेलमा शतक बनाएका कप्तान बाबर आजम एक दिवसीय क्रिकेटमा सबैभन्दा चाँडो ५ हजार रन बनाउने खेलाडी बनेका छन् । २८ वर्षीय खेलाडीले दक्षिण अफ्रिकाका हासिम आमलाको रेकर्ड तोडेका हुन् । आमलाले १०४ खेलको १०१ इनिङ्समा यो उपलब्धि हासिल गरेकोमा आजमले ९९ खेलको ९७ इनिङ्समा ५ हजार रन पुरा गरे ।

पछिल्ला दुई वर्षदेखि एकदिवसीय क्रिकेटमा आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहेका आजमले आमलाकै सबैभन्दा चाँडो १८ वटा शतक बनाउने रेकर्ड पनि तोडेका छन् । उनले एकदिवसीय क्रिकेटमा ५ हजारभन्दा बढी रन बनाउने १४ औँ पाकिस्तानी खेलाडी हुन् । सबैभन्दा बढी रन बनाउने सूचीमा पूर्व कप्तान इन्जमाम उल हक रहेका छन् । उनले ११ हजार ७०१ रन बनाएका छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्