जेलेन्स्कीको स्पष्टीकरण– हामीले पुटिनमाथि आक्रमण प्रयास गरेका छैनौँ

शुक्रबार, वैशाख २२, २०८०

किभ– युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोपको युक्रेनी राष्ट्रपतिले खण्डन गरेका छन् । 

फिनल्यान्ड भ्रमणमा रहेका भोलोदिमिर जेलेन्स्कीले आक्रमणबारे रुसी दाबीको खण्डन गर्दै भने, ‘हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ । हामी आफ्नो भू–भागका लागि लड्छौँ । हामी हाम्रा गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ ।’

यसअघि रुसी राष्ट्रपतिको कार्यालयले पुटिनको ज्यान लिने उद्देश्यले भएको ड्रोन आक्रमण निस्तेज पारिएको बताएको थियो ।

रुसले बदलामा आवश्यक ठानिए जुनसुकै समय र स्थानमा पनि प्रतिकार गर्न सक्ने चेतावनी दिएको थियो ।

रुसी राष्ट्रपति कार्यालयले युक्रेनबाट क्रेमलिनस्थित पुटिनको निवासमाथि आक्रमणको प्रयास भएको भन्दै त्यसलाई ‘योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयास’को संज्ञा दिएको थियो ।

अधिकारीहरूले उक्त भवनलाई निशाना बनाइरहेका दुई वटा ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर निष्क्रिय पारिएको बताएका थिए भने राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले आक्रमणका समय रूसी नेता पुटिन क्रेमलिनमा नरहेको बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्