नेभिगेशन
समाज विविध

कोरोना र डेंगु संक्रमितको मृत्यु

धनगढी–सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंगुबाट संक्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

अस्पतालको भेन्टिलेटरमा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।

नशासम्बन्धी रोगको उपचार गराउन अस्पताल भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । 

त्यसको दुई दिनपछि फेरि नमुना जाँच गराउँदा डेंगुको समेत संक्रमण देखिएपछि थप उपचारका लागि संक्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए । अस्पतालमै गत चैत २५ गते उनको नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ ।

यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा गत चैतदेखि कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।

खासगरी सीमानाका हुँदै भारतबाट भित्रिने अधिकांशमा कोरोना संक्रमण देखिने गरेको छ । कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको संक्रमण अझै बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

कोरोना भाइरसको समस्या देखिएयता बीचमा झण्डै एक वर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्युदर शून्य थियो । संक्रमण बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत् लगाउन थालिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रसुवा बाढी : ७ जनाको शव फेला