नेभिगेशन
समाज विविध

बाढीबीच रुख चढेर बाँचेका दम्पत्तीमा मङ्गली बर्बराउँछिन्, पाल्देनले के–के सोचेछन्?

काठमाडौं– नुवाकोटमा बाढीबीच रुख चढेर बाँच्ने आशा नगरेका एक दम्पत्तीलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो। 

प्रलय बाढीबीच रुख चढेर तीन घन्टासम्म काललाई नजिकबाट देखेका ६६ वर्षीया पाल्देन तामाङ र ६६ वर्षकै मङ्गली तामाङ अहिले त्रिशूली अस्पतालमा छन्।

नेपाल–चीनस्थित ल्हेन्देखोलादेखि आएको बाढीको प्रभाव नुवाकोटमा समेत परेको थियो।

नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ मा त्रिशूली नदीमा फसेका दुवै जनाको उद्धार भयो। 

ल्हेन्देखोला र केरुङखोला त्रिशूली नदीका सहायक नदी हुन्।

पाल्देन भन्छन्,‘मैले के–के देखिनँ होला, मैले के–के सम्झिनँ होला? त्यहाँमाथि रूखमा बस्दा आँशु कति गयो होला। मनमा के–के कुरा आयो’, बीबीसी नेपाली न्यूजले उदृत गरी लेखेको छ।

उनले अगाडि भनेका छन्,‘मेरो श्रीमतीको मलाई माया लाग्छ। म नआउने थिएँ, पत्नीका लागि आएको थिएँ।’

पाल्देनको स्वास्थ्य अवस्था सामान्य छ भने आफ्नी पत्नीको रक्तचाप बढेका कारण अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

उक्त अस्पतालका डा राजेन्द्र लामाका अनुसार मङ्गली तामाङ भने रोइरहने र बेलाबेला तर्सिने र झस्किने गर्छिन्।

बाढी आएको देखेपछि ज्यान जोगाउन रूख चढेर बसेका उनीहरूलाई तीन घण्टापछि उद्धार गरिएको थियो।

बिहान पानीको सतह बढेसँगै त्यस आसपासका मानिसहरू सुरक्षित स्थानतिर जान थालेका थिए।

उद्धारका लागि स्थानीय सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरू खटेका छन्। नेपाल प्रहरीका अनुसार उद्धारकार्यमा १२० भन्दा बढी सुरक्षाकर्मी परिचालित छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रसुवा बाढी : ७ जनाको शव फेला